उपराष्ट्रपतिमा निर्वाचित रामसहायकी श्रीमती गाउँमै गाई पाल्दै : राजनीतिमा टिक्न बेच्नुपर्‍यो जग्गा

प्रकाश भण्डारी
२०७९ चैत्र ३ गते १७:५९ | Mar 17, 2023
उपराष्ट्रपतिमा निर्वाचित रामसहायकी श्रीमती गाउँमै गाई पाल्दै : राजनीतिमा टिक्न बेच्नुपर्‍यो जग्गा

काठमाडौं। सत्तारुढ दलबाट उम्मेदवार रहेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीका नेता रहेका यादवले बारा २ मा माओवादीका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

Tata
GBIME
Nepal Life

त्यसपछि जसपा संसदीय दलको नेता बनेका यादवलाई पार्टी अध्यक्ष उपेन्द्र यादवको ‘फोर्स’मा उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो। सत्तारुढ दलमा माओवादीले यादवलाई रोक्न खोजे पनि अन्तत: उनको जित भएको छ। रामसहायलाई रोक्न खोजेपछि जसपाले प्रमिला यादवलाई समेत उम्मेदवारी दिन लगाइन्। महिलालाई उपराष्ट्रपति दिनुपर्ने आवाज उठेपछि सत्तारुढ दलबाट जनमत पार्टीका ममता झाकोसमेत उम्मेदवारी पर्‍यो।

को हुन् रामसहाय?

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनको सरकारमा वनमन्त्री बनेका रामसहायले पार्टीको महासचिवसम्मको पद सम्हालेका छन्। नेपाल सद्भावना पार्टीबाट राजनीति थालेका उनी शिक्षक थिए। उपेन्द्र यादवसँगको भेटपछि जनअधिकार फोरममा आवद्ध भएका उनी मधेश आन्दोलनमा पटकपटक गिरफ्तारीमा परे।

पहिलो संविधान सभामा समानुपातिक सांसद बनेपछि उनी काठमाडौं आए। सांसद बनेर काठमाडौं आइपुगे पनि उनकी श्रीमती चम्पादेवीलाई भने काठमाडौं रुचेनछ। आफू मन्त्री हुँदासमेत श्रीमती काठमाडौं नआएको रामसहायको भनाई छ। ‘श्रीमती गाइ पाल्छिन् गाउँमै। यता बस्नै मान्दिनन्,’ यादवले भने।

साथीभाइले भन्दा पनि काठमाडौंमा केही समय बसेर गाउँ फर्किएको उनले सुनाए। ‘साथीभाइले मजाक गरेर यतै बस्न भनेका थिए। तर यता केही दिन बसेर फर्किन्,’ रामसहायले भने। रामसहायको बाराको कलैयास्थित गोरुबजारमा गाई गोठ रहेको छ। यही गोठमा गाई स्याहर्दै श्रीमतीको दिन बित्ने उनको भनाई छ।

‘काठमाडौंको खर्च टार्न जग्गा बेचें’

बारा कचोर्वामा पुर्ख्यौली जमिन बेचेर कलैयाको गोरुबजारमा १२ धुर जमिन किनेका उनले सांसद भएको समयमा एक कठ्ठा जमिन बेच्नुपर्‍यो। काठमाडौंको खर्च धान्न आफूले जग्गा बेच्नुपरेको उनको भनाई रह्यो।

‘संविधान सभा सदस्य छँदै अलि क्षमताभन्दा बढी आँटेर पाँच लाखमा एक कठ्ठा जग्गा लिएको राजाको, उधारोमा। ६४ को सांसदको कार्यकाल सकिएपछि भाडा तिर्नुपर्‍यो। पढाइ सकाउनुपर्‍यो। त्यसको लागि त्यो एक कठ्ठा जग्गा बेच्नुपर्‍यो। नबेचेको भए काठमाडौं बस्न सकिँदैनथ्यो,’ रामसहायले भने।

दुई छोरा र एक छोरीका बुवा यादवले बीएड र बीएस्सीसम्मको अध्ययन गरेका छन्।