
काठमाडौं। अमेरिकी सरकारले टाट पल्टेको १६औं ठूलो अमेरिकी बैंक सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप ग्राहकहरुलाई पैसा भुक्तानी गर्ने भएको छ। पैसा जम्मा गर्ने व्यक्ति र व्यवसायहरूले सोमबारदेखि सबै निक्षेप उपयोग गर्न सक्नेछन्।
नियामकले न्युयोर्कको सिग्नेचर बैंकका निक्षेपकर्ताको पनि पैसा फिर्ता गर्ने भएको छ। सिलिकन भ्यालीपछिको सबैभन्दा कमजोर संस्था सिग्नेचर बैंक रहेको छ। जुन आइतबार नियामक नियन्त्रणमा आएको थियो।
अमेरिकी ट्रेजरी, फेडरल रिजर्भ र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले निक्षेपकर्ताहरूलाई पूर्णतया विश्वस्त हुन आग्रह गरेका छन्। करदाताले कुनै पनि नोक्सान बेहोर्नु नपर्ने उनीहरुको भनाइ हो।
विश्वास पुनर्स्थापना गर्न नियामकहरूले बैंकहरूलाई आपतकालीन कोषहरूमा पहुँच दिने तयारी गरेका हुन्।
फेडरल रिजर्भले नयाँ बैंक टर्म फन्डिङ कार्यक्रममार्फत सहायता प्रदान गर्ने जनाएको छ। सो व्यवस्था अनुसार बैंकहरू संकटमा परे उधारो लिन सजिलो हुनेछ।