टाटाको सवारी उत्पादन ५० लाख नाघ्यो, खुसी साट्न एक महिने उत्सव, सेलेब्रेसन क्याम्प गर्दै

बिजमाण्डू
२०७९ फागुन २० गते १४:५३ | Mar 4, 2023
टाटाको सवारी उत्पादन ५० लाख नाघ्यो, खुसी साट्न एक महिने उत्सव, सेलेब्रेसन क्याम्प गर्दै

काठमाडौं। सवारीसाधन उत्पादक भारतीय कम्पनी टाटाले उत्पादनमा ५० लाख इकाईको रेकर्ड बनाएको छ। सवारी उत्पादनमा शुक्रबार बेलुकी यो अंक पार गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले यसलाई ठूलो उपलब्धिका रूपमा लिँदै कामदार-कर्मचारी र ग्राहकसँग खुसी साट्नो कार्यक्रम तय गरेको छ। शुक्रबार बेलुकी ५० लाख इकाइ पुगेपछि केही गाडीहरुमा ‘५० लाख’ लेखिएको छ। अल्ट्रोज, नेक्सन, पञ्च, टिएगो, हेरियर र सफारी लगायतका मोडलमा कम्पनीको उपलब्धि जनाउने संकेत राखिएको हो।

उत्पादनमा ठूलो आकडा पार गरेको खुसीमा कम्पनीले सेलेब्रेसन क्याम्पहरु गर्ने भएको छ। यसअन्तर्गत डिलर र सेल्स आउटलेटमा ब्राण्ड अंकित कपडा र खास प्रतीक चिह्न बाँड्ने भएको छ। कम्पनीले एक महिना खुसी साट्ने योजना बनाएको छ।

टाटा मोटरर्सको प्यासेन्जर भेहिकल लिमिटेड र टाटा पेरेन्ज इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेश चन्द्राले कम्पनी यो उपलब्धिसम्म आइपुग्ने यात्रा सहज नभएको बताएका छन्। विभिन्न कठिनाइ पार गर्दै कम्पनीले उत्पादनलाई नियमित गरेको उनको भनाइ छ।

बितेको अढाइ वर्षमा मात्रै १० लाख गाडी उत्पादन गरेको बताएका उनले भनेका छन् – कोभिड-१९ को समय निकै कठिनाइपूर्ण रह्यो। सेमीकम्डक्टर चिप अभावले हाम्रो उत्पादन प्रभावित भएको थियो। तर, अब हाम्रो उत्पादनको सिलसिलाले गति लिइसकेको छ।

टाटा मोटर्सले सन् १९७७ मा पुणे प्लान्टबाट कमर्सियल भेहिकल उत्पादन अगाडि बढाएको थियो। १९९१ मा पहिलो प्यासेन्जर भेहिकल टाटा सिएरा ल्याएको कम्पनीले इन्डिकामा बजारको राम्रो प्रतिक्रिया पाएको थियो।

कम्पनीको पोर्टफोलियोमा यतिबेला सफारी, सुमो, इन्डिगो, ह्यारियर, पञ्च, नेक्सन, टियागो, टिगोर, नानो र अल्ट्रोज आदि मोडल छन्। कम्पनीले यतिबेला इलेक्ट्रिक गाडीको ठूलो बजार हिस्सा ओगटेको छ।

२००९ मा सबैभन्दा सस्तो कार नानो ल्याएको कम्पनीले पछि त्यसलाई निरन्तरता दिएन। अहिले इभीमा मात्रै चारवटा मोडल बजारमा बिक्री गरिरहेको छ।