न्यासिम खोला जलविद्युत आयोजनामा एमालेले गरेको हो तोडफोड ? वडा कमिटीले पठाएको थियो पत्र

बिजमाण्डू
२०७९ फागुन १७ गते २०:५५ | Mar 1, 2023
न्यासिम खोला जलविद्युत आयोजनामा एमालेले गरेको हो तोडफोड ? वडा कमिटीले पठाएको थियो पत्र


काठमाडौं।  फागुन १५ गते सीता हाइड्रोपावरले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनामा तोडफोड भयो।

Tata
GBIME
Nepal Life

तोडफोडका कारण  आयोजनामा १२ करोड रुपैयाँको क्षति पुगेको  कम्पनीले जनाएको छ। आयोजनाको काम सुरु गर्न एक बर्ष लाग्नेछ। कम्पनीले बनाएको पक्की आवास गृहमा क्षतिग्रस्त छ। विद्युतगृह, सुरुङमार्ग लगायतमा ठुलो क्षति पुगेको छ। आयोजनाका इन्जिनियरसहित ७ जना घाइते भएका छन्।

कसले गर्‍यो तोडफोड ?

कम्पनीका अनुसार दिउँसो २ बजेतिर आएको करिब ६० जनाको समूहले आयोजनास्थलमा तोडफोड, आगजनी र कर्मचारीमाथि आक्रमण गरेका थिए।

सोही दिन ११ बजे गुम्बा गाउँको मानेभन्ज्याङमा नेपाल विद्युत प्राधिकरणको वितरणलाइनमा करेन्ट सर्ट भएर एक स्थानीय बालिकाको मृत्यु भएको थियो। हाइड्रोपावरकै विद्युतका कारण बालिकाको मृत्यु भएको भन्दै स्थानीयले तोडफोड गरेका थिए। तर सो वितरणलाइनसँग कुनै सम्बन्ध नभएको कम्मनीका अध्यक्ष सीताराम तिमल्सिनाले बताए।  उनका अनुसार आयोजनाको काम जम्मा २५ प्रतिशत सकिएकाले सो लाइनसँग सम्बन्ध हुने कुरै भएन।

यो घटना हुनुभन्दा १० दिन पहिले नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) जुगल गाउँपालिका- ३ वडा कमिटीले आयोजनालाई पत्र लेखेको थियो।

हाइड्रोपावर कम्पनीले स्थानीय जनता तथा जनप्रतिनिधिहरुको सरोकार नराखेको पत्रमा उल्लेख छ।जलविद्युत आयोजना निर्माणले भुक्षय,जल, जमिन, जंगल विनास गर्ने,सर्वसाधरणको गुनासो नसुनेको, पीडितले पाउनुपर्ने मुआब्जा नपाएको गुनासो वडा कमिटीलाई आएको  उल्लेख छ। यो गुनासोप्रति ध्यानाकर्षण गर्दै बाध्य भएर वडा कमिटीको बैठक बसेर कडा प्रतिरोधमा उत्रन तयार रहेको उल्लेख छ। वडाध्यक्ष हिमाल तामाङको संयोजकत्वमा बैठक बसेको थियो। तामाङ सहितले आयोजनासँग काम मागेका थिए।

कम्पनीका अध्यक्ष तिमल्सिनाले धेरै स्थानीयहरुले काम मागेको भन्दै मिलेसम्म स्थानीयबाटै काम गरेको बताए। ‘पूर्ण रुपमा काम सुरु भएको छैन। सबै काम सुरु भएपछि दिन सकिन्छ। मलाई काम नदिने भन्दै रिसाएर आउँछन्,’ उनले भने, ‘सबैलाई काम दिन सकिँदैन।’

उनले स्थानीयको माग अनुसार बाटो बनाउने लगायतका काम गरेको दाबी गर्छन्।