अल्पकालीन ऋणको ब्याज दर घट्दो ट्रेण्डमा, अन्तर-बैंक सापटी दर पनि घट्यो

बिजमाण्डू
२०७९ फागुन १६ गते ०९:४२ | Feb 28, 2023

काठमाडौं। अल्पकालीन ऋणको ब्याज दर स्थिरजस्तो देखिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो ब्याजको प्रवृत्ति हेर्दा घट्दो भने देखिन्छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकले सरकारका लागि सोमबार उठाइदिएको आन्तरिक ऋणको ब्याज दर अघिल्लो पटक उठाएकै हाराहारीमा कायम भएको छ।

सोमबार जारी २८ दिने ट्रेजरी बिलको औसत ब्याज दर ७.२१ प्रतिशत कायम भएको छ। अघिल्लो पटक यसको ब्याज दर ७.२६ प्रतिशत थियो।

यसैगरी ९१ दिने ट्रेजरी ब्याज ९.३९ प्रतिशतमा आएको छ। यसअघि ९.५७ प्रतिशत थियो।

३६४ दिने ट्रेजरी बिलको ब्याज दर ९.६६ प्रतिशत कायम भएको छ। यसअघि १०.०९ प्रतिशत थियो।

राष्ट्र बैंकले केही नवीकरणसहित १५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गरेको थियो। यसको ब्याज मिश्रित देखिएको हो।

बैंकहरुको अन्तर बैंक सापटी दर पनि ७ प्रतिशत हाराहारीमा कायम छ। केही अघि बढेर स्थायी तरलता सुविधा (एसएलएफ) कै दर ८.५ प्रतिशत कायम भएको थियो। कर्जा निक्षेप अनुपात पनि ८६ प्रतिशत हाराहारी नै छ।