
काठमाडौं। ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्यामा चालकलाई कारबाही गरेको हो।
कार्यालयले मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, अनावश्यक हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए।