नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औं वर्षमा, ‘देशकै अग्रणी बैंक बन्न सफल भएका छौं’

२०७९ फागुन १४ गते १२:१५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औं वर्षमा, ‘देशकै अग्रणी बैंक बन्न सफल भएका छौं’


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए।

Tata
GBIME

स्थापनाको ३७ वर्षसम्म आइपुग्दा बैंकले व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको उनले बताएका छन्। गत पुसमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो।

मर्जरपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको पाँडेले बताए।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताएका छन्। संस्थापकहरुको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकको रुपमा स्थापित भएकोमा गर्व लागेको बताउँदै उनले ग्राहक वर्गको चाहनाअनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ। यो सुविधाले राष्ट्र बैंकले डिजिटल प्रविधिको उपयोगमा प्रवर्द्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने सीइओ पाण्डेको विश्वास छ।

यसैबीच, वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ। रक्तदानमा बैंकका कर्मचारीहरुको सहभागिता थियो। वार्षिकोत्सवका अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरिएको बैंकले जनाएको छ।

बैंकले २९६ शाखा, २७९ एटीएम, ५० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउण्टर र १०९ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ। उत्कृष्ट सेवा र व्यवसायका लागि ७ वटा बैंक अफ दि एयर अवार्ड प्राप्त गरिसकेको यस बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ का लागि युरोमनी अवार्ड जितिसकेको छ।


Sunrise Bank