
काठमाडौं। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)को नियुक्त गर्ने भएको छ।
आइतबार कम्पनीले सूचना प्रकाशन गर्दै रिक्त सीइओ पदका लागि विज्ञापन खुलाएको हो। खुल्ला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गर्न लागिएको छ।
इच्छुक नेपाली नागरिकले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिन सक्नेछन्। मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ बिषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभवसहित पूर्वाधार क्षेत्रको कार्य अनुभव गरि कम्तीमा १२ वर्षको अनुभव हुनुपर्नेछ।
आवेदन दिनका लागि ३५ बर्ष पूरा गरी ६१ वर्ष ननाघेको हुनुपर्ने गरि उमेर हद तोकिएको छ।
सीइओले पाउने मासिक पारिश्रमिक एवं सुविधा कम्पनीको नियमावली तथा संचालक समितिको निर्णय अनुरुप कार्यसम्पादन करारमा तोकिए बमोजिम हुने विज्ञापनमा उल्लेख छ।
यो कम्पनीमा अहिले प्रबन्ध निर्देशकले सीइओको जिम्मेवारीको काम गरिरहेका छन्। एक बर्षका लागि प्रकाश अधिकारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो। उनको कार्यकाल माघ १४ गते सकिएपछि नियमावली नै संशोधन गरेर एक वर्षका लागि थपिएको थियो।
उनलाई कम्पनीको बोर्डले असारभित्र सीइओ नियुक्त गरिसक्ने गरी समय थपेको थियो। सोही आधारमा सीइओको लागि विज्ञापन निकालिएको कम्पनीका एक अधिकारीले बताए।