
काठमाडौं। १०४ मेगावाटको कोखाजोर अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन अन्तिम चरणमा पुगेको छ।
विद्युत विकास विभागले एक सूचना प्रकाशित गर्दै सरोकारवाला निकायसंग आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकुल असर पर्ने भए लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ।
प्रस्तावित आयोजना सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१,३ र ५, मरिण गाँउपालिका-१ र २, काभ्रेको महाभारत गाउँपालिका-१,६ र ८, खानीखोला गाउँपालिका-४ र ५ र मकवानपुरको बागमती गाउँपालिका-१ र ५ मा निर्माण हुनेछ।
२०७९ असोज ५ मा पहिलो पटक प्रकाशित सूचना अनुसार यो आयोजनाको क्षमता ११६ मेगावाट थियो। तर हाइड्रोलोजी विश्लेषण परिमार्जन गर्दा प्रस्तावित बाँध क्षेत्रको औसत मासिक वहाबमा परिवर्तन भएकाले ‘प्लान्ट अपरेसन मोडल’ मा परिवर्तन भएको छ। सो अनुसार जलाशय (रिजर्भ्वायर) को औसत प्रवाहमा परिवर्तन हुन गएकाले आयोजनाको जडित क्षमता ११६ मेगावाट १०४ मेगावाटमा झारिएको हो।

आयोजनाको जडित क्षमता घटे पनि आयोजनाको स्थान परिवर्तन भएको छैन। त्यसकारण वातावरणीय प्रभावका दृष्टिकोणबाट भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा हुने प्रभावमा कुनै फरक पर्ने देखिदैन।
यो आयोजनाको २०२० मा ३० महिनामा सक्ने गरि आयोजना अध्ययनको जिम्मा इनर्जी इन्फ्राटेक प्रालि (भारत) तथा जीइओसिई कन्सल्ट्याण्ट प्रालि (नेपाल) को सयुक्त उपक्रमले पाएको छ। बैशाखसम्म अध्ययनको काम सक्ने योजना छ।
प्रारम्भिक अध्ययन अनुसार यो आयोजना निर्माणका लागि मरिण गाउँपालिकाको केहि बस्ती हटाउनुपर्छ। महाभारत गाउँपालिकामा आयोजनाको ड्याम साइट प्रस्ताव गरिएको छ। यो आयोजनाबाट बार्गिक २४४.२६ गिगावाट आवर विद्युत शक्ति उत्पादन हुनेछ।