सेयर बजारबारे राष्ट्र बैंकको समीक्षा मौन, आज बजारले कस्तो लय तय गर्ला?

बिजमाण्डू
२०७९ माघ २९ गते ०८:१३ | Feb 12, 2023
सेयर बजारबारे राष्ट्र बैंकको समीक्षा मौन, आज बजारले कस्तो लय तय गर्ला?

काठमाडौं। सेयर बजारबारे राष्ट्र बैंकको समीक्षा मौन छ। निजी क्षेत्रको सुझाव र लगानीकर्ता अपेक्षाविपरीत मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा आएको केही विश्लेषकको बुझाइ छ।

Tata
GBIME
Nepal Life

१२ करोड रुपैयाँको मार्जिन ऋण सीमालाई पुनरावलोकन गर्न लगानीकर्ताले बारम्बार सुझाव दिए पनि राष्ट्र बैंकले सुनेन्। सीमा यथावत राखे पनि जोखिम भार भने पुरानै दरमा फर्किनेमा लगानीकर्ता विश्वस्त थिए।

तर, राष्ट्र बैंकले सेयर बजार प्रभावित पार्ने नीतिमा कुनै चासो नगर्दा लागनीकर्ताको मनोबल गिर्ने जानकारहरु बताउँछन्। ‘समीक्षाको पर्खाइ बजारमा निकै थियो। चर्चाहरु लगानी अनुकूल हुँदा एक खालको सकारात्मक माहोल पनि बन्दै थियो। तर, समीक्षा बजारको चाहनाभन्दा ठीक उल्टो छ,’ ब्रोकर सञ्चालक नरेन्द्र सिजापतिले बिजमाण्डूसँग भने।

उनका अनुसार लगानीकर्ताको नैराश्यता शुक्रबारबाटै सुरु भएको हुँदा आइतबार बजारमा बिक्रेता हावी हुने सम्भावना उच्च छ। सेयर बजारमा भित्रिने रकमलाई नियन्त्रण गरिएकाले वृद्धि दिगो नहुने सिजापतिको भनाइ हो। 

बैंकिङ विज्ञ अनलराज भट्टराई पनि राष्ट्र बैंक सेयर बजारलाई ट्रिगर गर्ने नीतिमा निष्क्रिय बस्न चाहेको धारणा राख्छन्। ‘बजारले १२ करोडको क्याप र जोखिम भारलाई मनोवैज्ञानिक अवरोध जसरी बुझेको छ। ठूलो मार्जिन लोनको परिमाण पछिल्लो समय घट्दै गएको देखिएपनि लगानीकर्ताको मनोबलमा अझै सुधार छैन,’ उनले भने।

नीतिगत दरहरुलाई राष्ट्र बैंकले यथावत राखेको छ। ब्याजदर घट्दो क्रममा रहेको र तरलता कर्जा दिने अनुकूल बन्दै गएको सन्दर्भमा राष्ट्र बैंकले अनुत्पादक श्रेणीमा राखेको सेयर बजारमा रकम प्रभाव हुने जोखिम बढी हुन्छ। सुधारउन्मुख तरलता पुनः प्रभावित हुने हुँदा राष्ट्र बैंक विद्यमान नीति पुनरावलोकनमा अनिच्छुक देखिएको हो। गत शुक्रबार सार्वजनिक समीक्षालाई बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कसिलो रहेको धारणा व्यक्त गरेका थिए।

राष्ट्र बैंकको नीति अझै लगानी मनोबलको बाधक भए पनि सेयर बजारमा क्रमशः सुधार हुनेमा लगानीकर्ता निरन्जन टिबडेवाला विश्वस्त छन्। ‘बैंकहरुको निष्क्रिय कर्जाको अनुपात चर्किएको अवस्थामा समीक्षा सन्तुलित देखिन्छ,’ उनले भने,’तरलताको सहजता बजारका लागि अझै बाधक हो। बजारमा १२ करोडको सीमाले कुनै असर पर्दैन।’

उनका अनुसार सेयर बजारको रेट अफ रिटर्न मार्जिन कर्जाको ब्याजदर भन्दा कम छ। तर दीर्घकालीन योजनालाई मूल्यांकन गर्दा स्थिति सुधारउन्मुख रहेको टिबडेवाला बताउँछन्। बैंकिङ विज्ञ भट्टराई पनि बजारले विस्तारै राहत पाउँदै गएको र सबै आधारभूत पक्ष सुधार भएको जिकिर गर्छन्। राष्ट्र बैंक स्वयंले पनि बजारमा बढ्दो तरलताले सेयर बजार लगायतका क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताएको हो।   

ब्रोकरहरु अनपेक्षित सेलिङ प्रेसर भने नदेखिनेमा ढुक्क छन्। सिजापतिका अनुसार बजारमा ठूला लगानीकर्ताको बाहुल्यता बढेको र उनीहरुको लगानी एक-दुई दिनमै लिक्विडेट नहुने हुँदा तत्कालै बजार अनुमान भन्दा बाहिर भने जाने छैन। रिटेल लगानीकर्ता केही दिन बिक्रीमा केन्द्रित रहे पनि बजारले छिटै कोल्टो फेर्नेछ।