
काठमाडौं। सामसङले ग्यालेक्सी एस२३ र एस२३ प्लस सिरिजका नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार ग्यालेक्सी एस२३, एस२३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा स्मार्टफोन सार्वजनिक गरेको हो।
सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियंका रानी जोशीले नयाँ सिरिजका स्मार्टफोनहरु लञ्च गरेका छन्।
कार्यक्रममा संचार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले मोबाइल फोनको एसेम्बलिङ नेपालमै गर्न सामसङलाई आग्रह गरेका छन्। यसको बारेमा अध्ययन गर्न जरुरी रहेको उनको भनाइ छ।
‘नेपालमै स्मार्टफोन एसेम्ब्ली प्लान्टका लागि कानुनी पाटोमा सरकारले सहयोग गर्नेछ,’ उनले भने, ‘सरकारले यसका लागि ढोका सधैं खुला गर्नेछ,’ सचिव अर्यालले भने।
जसका कारण फोनको मूल्य नेपालमा कम हुन सक्ने अर्यालको भनाइ छ।
नेपालमा २५ प्रतिशत प्रयोगकर्ताले स्मार्टफोन नै प्रयोग नगर्ने अवस्था रहेको आर्यलले बताए। उनले विदेशमा कम मूल्यमै पाइने र नेपालमा बढी पर्ने हुँदा मोबाइलको मूल्य घटाउन केही गर्न सकिने विषयमा चासो राखेका छन्।
यस्तो छ सामसङले ल्याएको ग्यालेक्सी एस२३ सिरिजका स्पेसिफिकेसन

यसैगरी, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो उत्कृष्ट बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सेल क्यामराका साथ सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित गरिएको बताए।
ग्यालेक्सी एस२३ स्मार्टफोनमा प्रिमियम एक्स्पेरियन्सका लागि डिजाइन गरिएको बताइएको छ। उत्कृष्ट क्यामराले ट्रान्सफरमेटिभ एआइको साथमा वास्तवमै सिनेम्याटिक रात्रिकालीन भिडियोहरु खिच्न सहज हुने सामसङले जनाएको छ।
यो सिरिजको स्मार्टफोनहरुमा ५ हजार एमएएच क्षमताको ब्याट्री छ। कम्पनीले मासिक ६ हजार ४०० रुपैयाँमा मोबाइल किस्ताबन्दीमा खरिद गर्न सकिने जनाएको छ।