चरम आर्थिक संकटमा गुज्रिएको पाकिस्तान, अर्थतन्त्र बचाउन आईएमएफको सहारा

बिजमाण्डू
२०७९ माघ २६ गते १५:१७ | Feb 9, 2023
चरम आर्थिक संकटमा गुज्रिएको पाकिस्तान, अर्थतन्त्र बचाउन आईएमएफको सहारा

काठमाडौं। पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग मुलुकमा गहिरिरहेको आर्थिक संकट रोक्न अन्तिम वार्ता गरिरहेको छ। पाकिस्तानको विदेशी मुद्रा सञ्चिति रित्तिएको अवस्थामा आईएमएफसँग वार्ता भएको हो।

Tata
GBIME
Nepal Life

पाकिस्तानसँग एक महिनाका लागि पनि वस्तु आयात धान्ने विदेशी मुद्रा सञ्चित छैन। आकासिएको विदेशी ऋणसँग मुलुक संघर्ष गरिरहेको छ।

अत्यावश्यक अन्तर्राष्ट्रिय कोष नै खोल्ने उद्देश्यसहित आईएमएफ पाकिस्तान सरकारसँग १० दिने वार्तामा थियो। आईएमएफको टोलीले बिहीबार पाकिस्तान छाड्दै छन्।

सन् २०१९ मा पूर्व प्रधानमन्त्री इमरान खानको सरकार हुँदा पाकिस्तान आईएमएफको  साढे ६ अर्ब डलरको एक्सटेन्डेड फण्ड फेसिलीटी कार्यक्रममा प्रवेश गरेको थियो। जुन प्याकेज गत वर्ष ७ अर्ब अमेरिकी डलरमा बढाइएको हो। प्याकेज अन्तर्गतको नवौं समीक्षापछि १ अर्ब १८ करोड डलर आईएमएफले जारी गर्न बाँकी छ।

आईएमएफले पाकिस्तान एक चुनौतीपूर्ण आर्थिक मोडमा रहेको बताएको छ। कठिन बाह्य अवस्थासँगै सकारात्मक नीतिहरूले घरेलु मागलाई उच्च स्तरमा बढाउन संयुक्त भुमिका खेलेको आईएमएफले औल्याएको हो। जस अनुरुप अर्थतन्त्र ओभरहिट हुँदा २०२२ मा ठूलो वित्तीय र बाह्य घाटा निम्त्याएको हो। 

हालै पाकिस्तानको वार्षिक मुद्रास्फीति दर २७.६ प्रतिशत पुगेको छ। जुन सन् १९७५ यताकै उच्च हो। चुनावी नजिकिँदै गर्दा अर्थव्यवस्था संकटपूर्ण बनेको छ।

मुद्राको अवमूल्यन पनि धेरै भएको छ। यो साता एक अमेरिकी डलर बराबर २७५ पाकिस्तानी रुपैयाँ पुगेको छ। यो ऐतिहासिक गिरावट समेत हो। वर्षदिन अघिको १७५ पाकिस्तानी रुपैयाँ थियो। यसका कारण पनि पाकिस्तानको महंगी बढेको हो।

विदेशी मुद्राको अभाव पाकिस्तानको सबैभन्दा ठूलो समस्या बनेको छ। पाकिस्तानको औद्योगिक केन्द्र फैसलाबादमा जुबली टेक्सटाइलजस्ता कारखानाहरू बन्द भएका छन्। उद्योगहरु बन्द हुन थालेपछि व्यापक रुपमा बेरोजगारी बढेको छ। ४.४ प्रतिशत रहेको बेरोजगार दर बढेर ६.५ पुगेको छ। 

 उद्योगहरू आवश्यक कच्चा पदार्थ भुक्तानीलाई प्रर्याप्त डलर नहुँदा कठिन अवस्थाबाट गुज्रिरहेका छन्।

विश्लेषकहरूका अनुसार सरकारले पर्दापछाडि बैंकको सटही दर कृत्रिम रूपमा उच्च राखेर प्रणालीमा डलरको अभाव हुने गरेको छ। गत महिनाको अन्त्यतिर दर केही कम भयो। जसले केही व्यवसायहरूलाई राहत पुगेको थियो। परिणाम स्वरुप महँगी माथि पुग्यो।

अवस्था यस्तो छ की पाकिस्तानका सबै उद्योग व्यवसायको कारोबार ठप्प छ। उनीहरूले आयात गरेका सामानहरू बन्दरगाहमा थुप्रिन थालेका छन्।

जनवरीको अन्त्यमा कराँचीका दुई बन्दरगाहहरूमा औषधिदेखि खानासम्मका सामाग्रीसहितका ८ हजार भन्दा बढी कन्टेनरहरू थुप्रिएका थिए। 

पाकिस्तानी अर्थतन्त्र आयातित वस्तु तथा सेवामा अत्याधिक निर्भर छ।

यस्तो अवस्थामा पाकिस्तानी रुपैयाँ अवमूल्यन हुँदा इन्धनको लागत बढ्छ। ढुवानी र उत्पादनको लागत पनि प्रभावित हुन्छ। पाकिस्तानी सरकारले भर्खरै इन्धनको मूल्य १३ प्रतिशतले बढाएको छ।

आर्थिक संकटमा गुज्रिरहेको पाकिस्तानमा गत वर्ष बाढीले थप भयावह अवस्था सिर्जना गर्‍यो। संयुक्त राष्ट्रसंघले बाढीले १६ अर्ब डलरभन्दा बढीको क्षति गरेको प्रक्षेपण गरेको थियो। पाकिस्तानका विशाल क्षेत्रहरू डुबानमा परेका थिए भने खेतीयोग्य जमिनलाई बाढीले नष्ट गरेको थियो। जस कारण खाद्यान्न उत्पादन गर्ने क्षमतामा बाधा पुगेको छ। गहुँ र प्याज जस्ता आधारभूत वस्तुको मूल्य आकासिएका छन्।

अस्थिर राजनीतिक वातावरणको भार पाकिस्तानमा परेको हो। चुनाव पनि यही वर्षको अन्त्यमा हुँदैछ। निर्वाचनले आयातमा अत्याधिक निर्भर मुलुकहरुमा महँगी थप चर्किन्छ।