नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा ल्याएको नयाँ प्रावधानले कसरी दुर्घटना न्यूनीकरण हुन्छ ?

बिजमाण्डू
२०७९ माघ २६ गते १२:२४ | Feb 9, 2023
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा ल्याएको नयाँ प्रावधानले कसरी दुर्घटना न्यूनीकरण हुन्छ ?


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले मार्चबाट लागु हुने समर सेड्युलमा ९ वटा सुगम गन्तब्यमा भिजुअल फ्लाइट रुल (भीएफआर) उडानमा प्रतिवन्ध लगाएको छ।

Tata
GBIME
Nepal Life

यती एयरलाइन्सको विमान दुर्घटनापछि कार्यान्वयनमा ल्याएको नयाँ प्रावधान अनुसार ९ वटा गन्तब्यमा भीएफआर उडान गर्न पाइने छैन। प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले उडानको क्रममा हुने मानविय त्रुटि रोक्न भीएफआर प्रतिवन्ध लगाएको बताए।

उनका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, काठमाडौं लगायतमा भीएफआर प्रयोग गर्न पाइने छैन। भुलका अनुसार जुनसुकै मौसममा पनि एटीआर-७२, एटीआर-४२, सीआरजे-२००, सीआरजे-७००, क्यु-४०० सिरिजका जहाजलाई इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) प्रणाली अन्तर्गत उडान गर्न निर्देशन दिइएको सुचना अधिकारी भुलले जानकारी दिए।

‘अब मौसमको अवस्था जस्तो भएपनि वायुसेवाले आइएफआर जडान गरिएका विमानस्थलमा भीएफआर उडान गर्न पाउने छैनन्। आइएफआर उडान गर्दा पाइलटसँग पर्याप्त समय हुन्छ। एप्रोच प्रोफाइल पालना गर्दा कुनै पनि जोखिम हुँदैन,’ उनले भने,’यो समर सेडुलबाट यी विमानस्थलमा भीएफआर उडान गर्न पाइने छैन।’   

दुर्गम गन्तब्यमा भीएफआर अन्तर्गत उडान गर्ने लेट ४१०, डोर्नियर, ट्विन अटर लगायत साना किसिमका जहाजलाई टर्न गर्न गाह्रो नहुने भएकाले नरोकेको उनले जिकिर गरे।

सामान्यतया जहाज उडान हुँदा दुईवटा नियम हुन्छन्। जहाजको स्पिड, हाइट, मौसम, दुईवटा जहाजको विचको दुरी लगायत निश्चित नियम हुन्छ। भीएफआर उडान मानव केन्द्रित उडान हो। यसमा पाइलटले जहाजको भन्दा पनि आफ्नो आँखालाई विश्वास गरेको हुन्छ।

तर आइएफआरमा भने पाइलटले आँखाले भन्दा उपकरणको सहायताले उडान अवतरण गर्छन्।

उड्डयन क्षेत्रमा कम्युनिकेश, नेभिगेशन र सर्भिलेन्स तीन मुख्य प्रणाली हुन्। उडिरहेको जहाज र ग्राउण्डमा बसेको एटीसीविच कम्युनिकेशन हुन्छ। आकाशमा उडिरहेको जहाजलाई गन्तब्यबारे सुचना दिने काम नेभिगेशनको हो।

यो अन्तर्गत कुनैपनि विमानस्थलको दुरी, जाने मार्ग लगायतको जानकारी दिन सकिन्छ। कहिलेकाँही जहाज अवतरण तोकिएको समयमा हुन नसकेमा जहाजको अवस्था हेर्ने काम भनेकै सर्भिलेन्स हो। यसमार्फत पाइलटले बोलेको कुरालाई भेरिफाइ गर्न सकिन्छ।

यदि कुनै विमानस्थलमा भिजिबिलिटी पाँच किलोमिटर छ र बादलको लेयर १५ सय फीट भन्दा तल भएको अवस्थामा इन्स्ट्रुमेन्ट मेट्रोलोजिकल कन्डिसन ‘आइएमसी’ अर्थात आइएफआर उडान हुन्छ। तर यसको ठीक विपरीत पाँच किलोमिटर भन्दा माथि र बादलको लेयर १५ सय फीट भन्दा माथि भएको अवस्थामा भीएफआर हुन सक्छ।

आइएफआरमा फ्लाइट म्यानेजमेन्ट सिस्टममा उडान अवतरण गरिने कुनै पनि गन्तब्यको अप्रोच, ल्याण्डिङ इन्स्ट्रक्सन राखिएको हुन्छ। आइएफआर प्रणाली भीएफआरको तुलनामा समयको हिसाबले बढी लाग्न सक्छ। आइएफआरमा अधिकतम गति, उचाई लगायतका कुरा निश्चित राखिने भएका कारण दुर्घटना जोखिम कम हुने प्राधिकरणले जनाएको छ।

पहिला दुर्गम क्षेत्रको गन्तब्यमा भीएफआर फ्लाइट गर्दा ५०० फीट भन्दा तल आएर अवतरणको तयारी ‘स्टेबलाइज्ड अप्रोच’ गर्न नपाउने व्यवस्था गरिएको छ। सुगम विमानस्थलमा भीएफआर उडान गर्दा लागू  गरिएको पाँच सय फीटको प्रावधानलाई परिमार्जन गरेर एक हजार फीट उचाई अनिवार्य गराइएको छ। ट्रंक रुटमा ठूला जहाजका लागि यो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ।

आइएफआर प्रणाली जडान नभएका सुगम विमानस्थलमा भीएफआर अवतरण गर्दा एक हजार फीट तल आएर टर्न, ट्विस्ट गर्न नपाउने प्राधिकरणले जनाएको छ। यो अन्तर्गत जहाज एक हजार फीट भन्दा तल आएर अवतरण प्रक्रिया अगाडि बढाउन नपाउने व्यवस्था कायम गरिएको छ।

सुचना अधिकारी भुलका अनुसार एटीआर-७२को स्टाण्डर्ड क्लाइम्ब रेट १००० फीट प्रति मिनेट रहेको छ। जहाज धेरै तल आएको अवस्थामा नियन्त्रणमा ल्याउन नसकेर दुर्घटना हुने सम्भावना देखेर यो प्रावधान लागू गरिएको उनले जानकारी दिए।

पाइलट तालिम जहाज उत्पादक कम्पनीमै पठाउनुपर्ने

प्राधिकरणले पाइलट तालिमका लागि जहाज उत्पादक कम्पनी अथवा सिफारिस गरिएको कम्पनीमा पठाउने प्रावधान लागू गरेको छ। ६ महिनाको अवधिमा सिमुलेसन, पाइलट प्रोफिसियन्सी चेक ‘पीपीसी’ को परीक्षा सम्वन्धिक जहाज उत्पादक कम्पनीबाट गराउने निर्णय गरिएको छ।

यस अघि एउटा वायुसेवाको पाइलटको पीपीसी अर्को वायुसेवाको आइपीबाट गराइँदै आइएको थियो। प्राधिकरणले जारी गरेको नयाँ निर्देशन अनुसार यो परीक्षाको निरीक्षण जहाज उत्पादक कम्पनीले नै गर्नेछ।

‘ चिनजानको हिसाबले तालिम र परीक्षामा पक्षधरता नहोस् भन्ने उद्धेश्यले यो प्रावधान लागू गरिएको हो,’ सुचना अधिकारी भुलले भने,’यसो भएपछि जहाज उत्पादक कम्पनीकै प्रतिनिधि आएर परीक्षाको निरीक्षणको काम गर्नेछन्।’

कुनै पनि एयरलाइन्समा आवद्ध पाइलटलाई सुरुमा ट्रेनी कोपाइलटको रुपमा राख्ने गर्छन्। यो अन्तर्गत कम्पनीको जहाजको उपकरणबारे जानकार हुन्छ। ट्रेनी को-पाइलटको निश्चीत समय पारगरेपछि उसलाई जुनियर कोपाइलट हुँदै जुनियर कोपाइलट, जुनियर क्याप्टेनमा प्रमोशन गरिन्छ।

क्याप्टेन बन्नका लागि सबै किसिमका विमानस्थलमा उडान अवतरण गर्न सक्षम हुनुपर्ने प्रावधान रहेको छ।     

मुलुकमा भएका विमानस्थल ए, बी, सी गरी तीन वर्गमा विभाजन गरिएको छ। सी वर्गको विमानस्थल कठिन हुन्छन्।

वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक पाइलटले अर्को पाइलट प्रोफिसियन्सी चेक ‘पीपीसी’ गर्नु पूर्व सम्वन्धित वायुयान कम्पनी निर्माता कम्पनी वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्था परीक्षकमार्फत अनिवार्य रुपमा प्रोफिसियन्सी चेक गर्नुपर्ने व्यवस्था लागू गरिएको हो।

पाइलटको थकान अनुसारको आराम का लागि प्राधिकरणले उडान अवतरण समय र संख्या घटाएको छ। ‘शरीर र मष्तिष्कको तालमेल मिलाउनसँगै पर्याप्त आराम दिनका लागि पाइलटको उडान अवतरण संख्या र काम गर्ने समय घटाइएको हो। लगानी गरेर पाइलट पढेर आएको हुन्छ। जति बढी उडान गर्‍यो त्यति पैसा कमाउने मनसाय वृद्धि नहोस् भन्ने उदेश्य हो,’ उनले भने।

उडान गर्ने क्रममा ड्युटी टाइम सकिएपछि एकजना पाइलटलाई समावेश गरेर ‘अगमेन्टेड फ्लाइट’ गर्न नपाइने व्यवस्था गरिएको छ। पाइलट विचको तालमेल मिलाउन अतिरिक्त छुट्टै क्रु सेट लैजान अनिवार्य गराइएको सुचना अधिकारी भुलले बताए।

‘यस अघि कुनै पनि गन्तब्य उडानमा तीनजना पाइलट लगिएको हुन्थ्यो। आउँदा एउटा दोहोरिने र अर्को नयाँ हुन्थ्यो,’ उनले भने।

प्राधिकरणले पाइलटको उडान अवतरण संख्या १० बाट घटाएर आठवटामा झारेको छ। यो अन्तर्गत एउटा सेटले चारवटा उडान गर्न पाउने छ। ‘नम्बर अफ ल्याण्डिङ पहिला १० वटा थियो। अब आठवटा कायम भएको छ। पाइलटको थकान कम गराउन नम्बर अफ ल्याण्डिङ र ड्युटी टाइमलाई सँगै राखिएको छ। चारवटा ल्याण्डिङ वा उडान समय आठ घण्टा भएपछि पाइलटले उडान गर्न पाउने छैन,’ उनले भने,’त्यसपछि हतारमा उडान हुने सम्भावना कम हुनेछ।’     

प्राधिकरणले पाइलटको उड्ने टाइम एक घण्टा घटाएर आठ घण्टामा कायम गरेको छ। यस अघि सुगममा उडान गर्ने पाइलटको ड्युटी टाइम ११ घण्टा र आकाशमा उड्ने टाइम नौ घण्टा रहेको थियो।   

यो निर्णयसँगै पाइलट पढेर बसेका जनशक्तिका लागि रोजगार सिर्जना हुने उनले जानकारी दिए। उड्डयन सुरक्षा सृढीकरण सँगै नयाँ जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउँदै उनले भने,’भएकै पाइलटलाई धपेडी पनि हुँदैन। यसरी समय सीमा तोक्दा ग्राउण्ड इन्जिनियर, पाइलट, कोपाइलटले रोजगारी पाउनेछन्।’

उनका अनुसार हाल पाइलट पढेर आएका तीन सय जनाभन्दा बढी बेरोजगार रहेका छन्।