अर्थतन्त्र लयमा फर्किएसँगै सेयर बजारमा उछाल, समीक्षा अनुकूल आए वृद्धि झनै तीव्र हुने

बिजमाण्डू
२०७९ माघ २४ गते १५:०९ | Feb 7, 2023
अर्थतन्त्र लयमा फर्किएसँगै सेयर बजारमा उछाल, समीक्षा अनुकूल आए वृद्धि झनै तीव्र हुने

काठमाडौं। अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिकपछि सेयर बजारले पुन: गति लिएको छ। साताको सुरुवातबाटै बजार सुस्त थियो। तर बाह्य क्षेत्रको सन्तोषजनक अवस्था सार्वजनिक भए लगत्तै बजारमा माग ह्‍वात्तै बढेको छ। 

Tata
GBIME
Nepal Life

महिना दिनपछि बजारले ७६.६४ अंकको फराकिलो फड्को मारेको छ। नभए राजनीतिक अनिश्चयले गर्दा बजारमा बिक्रेता हावी हुन थालेका थिए। घट्दो ब्याजदरप्रति समेत सेयर बजार सकारात्मक हुन सकेको थिएन।

सोमबार राष्ट्र बैंकले अर्थतन्त्रका समस्टिगत सूचकांक प्रगतिउन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेको थियो। जसले लगानी प्रोत्साहन गर्ने हुँदा बजारमा माग उच्च देखिएको छ। २१ सयलाई नाघेको परिसूचकले एकैदिन लामो छलाङ लिएर २१७७ मा कायम भएको हो।

सक्रिय कारोबारीहरु २२७७ यताको करेक्सनले पनि यस वृद्धिलाई बढावा दिएको तर्क गर्छन्। यद्यपि क्षतिग्रस्त अर्थतन्त्र पुन: लयमा फर्किएका कारण लगानीकर्ताको मनोबल वृद्धि भएको उनीहरुको धारणा हो। 

विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बढेको र आयात घटेका कारण शोधनान्तर झन्डै एक खर्ब बचतमा गएको छ। शोधनान्तर बचतमा हुँदा बाह्य क्षेत्र मजबुत बन्दछ। राष्ट्र बैंकले पुससम्मको आर्थिक तथ्यांक सार्वजनिक गर्दै शोधनान्तर ९७ अर्ब १० करोड रुपैयाँ बचतमा पुगेको जनाएको हो। जबकी भदौमा शोधनान्तर २३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो।

उच्च ब्याजदर र शत प्रतिशत मार्जिनको व्यवस्थाले आयातमा कमी आएर व्यापार घाटा पनि खुम्चिएको हो। तर, राष्ट्र बैंकले शत प्रतिशत मार्जिनलाई हटाइसकेको छ। विदेशी विनिमयको सञ्चितिमा व्यापक सुधार देखिन्छ। मुलुकसँग झन्डै ९.१ महिनाको सेवा तथा वस्तु आयात धान्ने सञ्चिति छ।

अर्कोपट्टि राष्ट्र बैंको सर्वेक्षण विपरीत महंगी दर घट्दो छ। ‍पुसमा मुद्रास्फीति ७.२६ प्रतिशत कायम छ। महँगीदर घट्दा चर्किएको ब्याजदरलाई पनि सन्तुलनमा राख्‍न सहायता मिल्छ। जसका कारण बैंकहरुले पनि कर्जा प्रवाहमा जोड दिन सक्नेछन्।

ब्याजदर महँगो हुँदा ऋणको माग सुस्त छ। तर, बढेको निक्षेपदरले बैंकिङ प्रणालीमा अधिक तरलता हुन थालेको छ। सीडी रेसियो कर्जा दिने अनुकूल छ। प्रणालीमा तरलता थपिएसँगै बैंकहरुले राष्ट्र बैंकसँग लिने सापटी पनि कम हुँदै छ। अन्तर-बैंक दर ४ प्रतिशत हाराहारीमा झरेको छ। प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ५ अर्बको रिभर्स रिपो नै जारी गर्‍यो। 

माघ १ गतेदेखि निक्षेपको ब्याजदर पनि घटेको छ। जसले आगामी दिनमा बैंकहरुको लागत घटेर कर्जाको ब्याज सस्तिने संकेत गर्छ। सरकारले पनि खर्च कटौती गर्ने र पुँजीगत खर्चलाई केही तीव्र बनाउने नीति लिन थालेको छ। जसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन थप सहायता पुग्नेछ। 

सम्पूर्ण संकेत लगानीमैत्री हुँदा लगानीकर्ताको सक्रियता बजारमा बढेको हो। तीव्र किनबेचले कारोबार रकम सवा ३ अर्ब रुपैयाँ नाघेको छ। बजारको वृद्धिलाई टेवा पुग्ने नीति पनि तर्जुमा भए नयाँ बुलिस चक्रको अनुमान गर्न लगानीकर्ता थालेका छन्।

‘मौद्रिक समीक्षा सेयर बजार सापेक्ष साबित भए वृद्धि झनै तीव्र हुने थियो,’ ती लगानीकर्ताले भने,’बजारलाई समीक्षाको पर्खाइ अझै पनि छ। हिजो आर्थिक सूचकांकहरुले कारोबारीलाई पुनः सक्रिय हुने मौका दिएको हो। निःसंकोच लगानीलाई केही सकारात्मक संकेत अझै आवश्य पर्ला।’

माघ २० सम्म राय सुझाव संकलन सकेर राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको खाका बनाउने तयारीमा जुटेको छ। फागुन पहिलो साता समीक्षा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ।

गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णु पौडेल दुवैले यस पटक सेयर बजार प्रति सकारात्मक दृष्टिकोण लिने धारणा व्यक्त गरेका छन्। कतिपय सेयर बजारका नीतिगत समस्याप्रति लचिलो हुने पनि उनीहरुको प्रतिबद्धता हो। यसै दौरान सरकारले पनि बजेटको अर्धवार्षिक समीक्षा गर्नेछ। जसमार्फत् तर्जुमा हुने आर्थिक नीतिले बजारको लय निश्चय गर्न थप बल पुग्नेछ।