
काठमाडौं। कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ।
बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता सेयर बिक्री आह्वान गरेको हो।
बैंकले उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकतामा संस्थापक सेयरधनीहरुलाई राखेको छ। खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।
आवेदन फाराम बैंकको केन्द्रीय कार्यालय टंगाल काठमाडौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।
तोकेको म्यादभित्र संस्थापक सेयरधनीहरुले खरिद गर्न चाहेको कित्ता संख्या र आशय मूल्यसहित निवेदन बुझाउनु पर्नेछ। विद्यमान संस्थापकबाट आवेदन नआए सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले उल्लेख गरेको छ।