लीपफ्रगको दशक लामो फड्को, सफ्टवेयर बनाउँदै अमेरिका निर्यात

बिजमाण्डू
२०७९ माघ २२ गते १२:४८ | Feb 5, 2023
लीपफ्रगको दशक लामो फड्को, सफ्टवेयर बनाउँदै अमेरिका निर्यात


काठमाडौं। डिल्लीबजार कारागारबाट केही अघि बढ्दा त्यसै लाइनमा एक कर्पोरेट भवन छ। हिमालय बैंक पनि रहेको उक्त भवनको तेस्रो तल्ला पुग्दा लीपफ्रग टेकनोलोजी कम्पनीमा पुगिन्छ। लीपफर्गको अफिस पस्नको लागि दुई तरिका छ। 

Tata
GBIME
Nepal Life

स्टाफहरूको लागि प्रवेशद्वारसँगै रहेको स्क्यानरले आइडी स्क्यान गर्ने बित्तिकै ढोका स्वत: खुल्छ भने भिजिटरका लागि रिङ बेलको व्यवस्था छ। घण्टीको आवाज सुन्ने बित्तीकै लिन सेक्युरिटीका स्टाफ आउँछन्। भर्‍याङ उक्लेर माथिल्लो तल्लामा पुग्नासाथ रिसेप्सनको दाँयापट्टी ठूलो हरियो रङको भ्याकुताले स्वागत गर्छ।

लीपफ्रगको कार्यालयमा एकैसाथ चार सय पचासभन्दा धेरै कर्मचारीहरु काम गर्छन्।  

करिब एक दशक अगाडि सुरू भएको सफ्टवेयर निर्माता कम्पनी लीपफ्रगले हाल ३५ सक्रिय क्लाइन्टका लागि काम गरिरहेको कम्पनीका वरिष्ठ उपाध्यक्ष कैलाशराज बिजयानन्दले बताए।  

सन् १९९५ मा अमेरिका पुगेका हिमाल कर्मचार्यले एक दशक अगाडि स्थापना गरेको सफ्टवेयर कम्पनी हो, लीपफ्रग। एमआइटीबाट कम्प्यूटर साइन्समा इन्जिनियरिङ उत्तिर्ण गरेका हिमाल नेपाल आउने जाने गरिरहन्थे। 

सन् २०१०मा नेपालमा नै हुँदा हिमालले डिजिटल भुक्तानीको लागि एक मोबाइल बैंकिङ एप बनाएका थिए। टिममा लगभग १५ जना जति थिए। तर त्यो समयमा यस्तो किसिमको प्रोडक्टको लागि नेपालको बजार तयार भइसकेको थिएन। इन्टरनेट पेनिट्रेसन पनि कम थियो।  

त्यसैले उनीहरू अमेरिकी बजारतर्फ केन्द्रित हुने सोचे। सोही अनुसार अमेरिकामा नै दर्ता गरेर त्यसकै वैदेशिक लगानी (एफडीआइ) मार्फत नेपालको कम्पनी सुरू गरेको कैलाश बताउँछन्।

एक दशक बितिसक्दा पनि लीपफर्गले अमेरिकी कम्पनीहरूको लागि मात्रै सफ्टवेयर निर्यात गरिरहेको छ। 

अमेरिकामा मात्रै किन त? कैलाश जवाफ दिन्छन्, ‘एक त अमेरिकामा नै स्थापित भएर पनि हो। त्यसमा पनि अमेरिकाको बजार नै यति ठूलो छ कि हामीलाई अरू ठाउँमा जाने कुनै कारण नै देखेको छैनौँ।’

विशेषगरी हेल्थकेयर प्रविधिको सफ्टवेयरमा काम गर्दै आएको लीपफ्रगले शिक्षा प्रविधि, फिन्टेक लगायतका सफ्टवेयरहरू पनि निर्यात गर्दै आएको कैलाश सुनाउँछन्। 

यस कम्पनीले माइक्रोसफ्ट, जेरोक्स, कनेक्ट आरएन, लाउडियो, फिल, भिरोजी लगायतका ठूलादेखि स्टार्टअपहरूका लागि समेत सफ्टवेयर निर्माण गरिसकेका छन्। एक दशक लामो अपरेसनमा  लीपफ्रगले एकसय भन्दा बढी क्लाइन्टहरूको दुईसय बढी प्रोजेक्टहरू डेलिभर गरिसकेको छ।

लीपफर्गले मूख्यत: सिलिकोन भ्यालीका क्लाइन्टहरूलाई सर्भ गर्दै आएको कैलाश बताउँछन्, ‘उहाँहरुको अपेक्षा हाइ नै हुन्छ। आजको दिनसम्म क्लाइन्टको अपेक्षा अनुसार नै काम भइरहेको छ। काम चलाउ गर्ने भन्दा पनि गुणस्तरीय प्रोडक्ट डेलिभर गर्नु पर्ने हुन्छ।’ 

कोही क्लाइन्टको लागि लीपफ्रग नै सोल टेक्नोलोजी प्रोभाइडर या कन्सल्टेन्ट हुन्छ भने  कति क्लाइन्टहरूको आफ्नै टेक टिम पनि हुन्छ। उनहरूको केही कामहरु मात्र लीपफ्रगले हेरिदिनुपर्ने पनि हुने गरेको कैलाश सुनाउँछन्। 

सफ्टवेयर लगायत सम्पूर्ण बिजनेस प्रोसेस आउटसोर्सिंग (बीपीओ) अर्थात व्यापार प्रक्रिया आउटसोर्सिंगको विश्वव्यापी १६५ अर्ब अमेरिकी डलरको विशाल बजार छ। यस विशाल विश्व बजारमा  नेपाली बजार एक अर्ब अमेरिकी डलर हाराहारी रहेको कैलाशको अनुमान छ। लीपफ्रगले मात्रै वार्षिक करोडौं डलरको कारोबार गर्ने गरेको छ।

यूएस एडको सन् २०१९/२० को तथ्यांकअनुसार नेपालको कूल ग्राहस्थ उत्पादनमा ७४ मिलियन अमेरिकी डलरको योगदान रहेको देखाएको छ। 

नेपालमा लीपफ्रग जस्तै इबीपर्लस, कोटीभिटी, भेरिक्स लगायतका ठूला सफ्टवेयर निर्यात गर्नेदेखि आफ्नै हिसाबले फ्रिल्यानसिङ गर्दै आएका हजारौं छन्। तर अमेरिका, भारतजस्तो विशाल प्रविधि हव हुँदाहुँदै के कुराले विदेशी कम्पनी तथा स्टार्टअपहरूलाई नेपालले आकर्षित गरिरहेको छ?

कैलाश भन्छन्, ‘नेपालको मूख्य आर्कषण भने केही पनि छैन। तर सम्पूर्ण दक्षिण एसिया हेर्ने हो भने मूख्य भनेको लागत नै हो। किनभने अमेरिकामा महँगो छ। साथै जनशक्ति पनि पुग्दो छैन।’

उनी थप्छन्, ‘नेपाल सरकारले यस क्षेत्रलाई त्यति विश्वास भने गरेको देखिँदैन। नेपालीहरूले बनाएको सफ्टवेयर विश्वको ठूलाठूला कम्पनीहरूले प्रयोग गरिरहेको बेला सरकारका विभिन्न अंगहरूको सफ्टवेयरहरू बनाउन विदेशी कम्पनीहरूलाई काम दिइन्छ। हाम्रो देशको त प्रविधि क्षेत्रमा ब्राण्डिङ नै भएको देख्दिन म।’

प्रविधि क्षेत्रको वृद्धि विश्वव्यापी रूपमा हाल सुस्ताएको देखिएपनि यो उद्योग सबैभन्दा धेरै कमाइ हुने  उद्योग भएको कैलाश बताउँछन्। सफ्टवेयर लगायतका बिपीओ सर्भिस निर्यात गरेर देशमा वार्षिक रूपमा करोडौँ रूपैयाँ भित्रिरहेको छ। तर नेपाल सरकारको ध्यान तथा एक्सन यस क्षेत्रको विकासमा केन्द्रित नभएको उनले दावी गरे।

हाल ४५० भन्दा धेरैलाई रोजगारी दिइरहेको लीपफ्रगलाई क्लाइन्ट तथा कामको कुनै अभाव छैन, समस्या केही छ भने पर्याप्त जनशक्तिको। 

कैलाश भन्छन् ‘पढाईको गुणस्तको त कुरै नगरौँ। हाम्रोमा स्नातक तहमा निश्चित कोटा हुने भएकाले पर्याप्त जनशक्ति नै उत्पादन हुँदैन। यी बाहेक पनि हामीलाई टाइम जोन, भाषा लगायतका कुराहरूले पनि फेवर गरेको छैन।’

हायरिङ रेट जम्मा दुई प्रतिशत भएको लीपफ्रगमा कार्यरत ४५० बढी कर्मचारी मध्ये ९८ प्रतिशत नेपाली नै रहेको कैलाश बताउँछन्। उनीहरूले मासिक लाखौँमा कमाई गर्छन्। 

सरकारले प्रविधि क्षेत्रमैत्री नीति ल्याउनुका साथै प्रविधि क्षेत्रको विकासको लागि आवश्यक पूवाधारहरू निमार्ण गर्ने हो देशमा वार्षिक अर्बौं डलर भित्राउन केही गाह्रो नहुने कैलाशको बुझाइ छ।