अर्जेन्टिनामा दुई हजार पेसोको नयाँ नोट जारी गरिने, मुद्रास्फीति दर ९४.८० प्रतिशत

२०७९ माघ २० गते १६:४२
अर्जेन्टिनामा दुई हजार पेसोको नयाँ नोट जारी गरिने, मुद्रास्फीति दर ९४.८० प्रतिशत


बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै अर्जेन्टिनामा दुई हजार पेसोको नयाँ नोट जारी गरिने भएको छ।

TATA
GBIME

अर्जेन्टिनाको केन्द्रीय बैंक (बीसीआरए) का अनुसार नयाँ नोटको मूल्य भने ११ डलर मूल्य बराबर हुनेछ। हाल सबैभन्दा ठूलो एक हजार पेसोको नोटको मूल्य २.७० डलर मात्रै छ।

पछिल्लो एक वर्षको अन्तरालमा अर्जेन्टिनामा उपभोक्ता मूल्यस्फीति दर झन्डै ९५ प्रतिशतले बढेको छ। यो सन् १९९१ पछिकै सर्वाधिक तीव्र वृद्धि हो। अर्जेन्टिनाको मासिक मुद्रास्फीति दर डिसेम्बरमा ९४.८० प्रतिशत छ।

अर्जेन्टिनाको वर्तमान मुद्रा सन् १९९२ मा एक अमेरिकी डलरसँग पेग गरिएको थियो। तर त्यो स्थिर विनिमय दर प्रणाली सन् २००१ र २००२ को आर्थिक संकटपछि त्यागिएको हो।

अर्जेन्टिनामा ऊर्जा लगायतका वस्तुहरूको मूल्य बढेपछि मूल्यमा तीव्र वृद्धि भएको छ। रुस युक्रेन युद्धको असरले मात्र नभई बैंकले प्रिन्ट गरेको नोटहरुका कारण पनि त्यहाँ महंगी अचाक्ली बढेको बताइन्छ।

डिसेम्बरमा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दक्षिण अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रको लागि थप ६ अर्ब रकम स्वीकृत गरेको छ। आईएमएफले अर्जेन्टिनाका लागि दिएको यो पछिल्लो भुक्तानी थियो। ३० महिने आईएमएफको सो परियोजनाअन्तर्गत मात्रै अर्जेन्टिनाले ४४ अर्ब डलर पाउने अपेक्षा गरिएको छ।

गत वर्ष संकटग्रस्त अर्जेन्टिनामा चार हप्ताको अन्तरालमा तीनजना अर्थमन्त्री फेरिएका थिए। सेप्टेम्बरमा केन्द्रीय बैंकले पनि आफ्नो मुख्य ब्याजदर ७५ प्रतिशत पुर्यायो। महंगीलाई नियन्त्रण गर्ने केन्द्रीय बैंकको चाहना असफल हुँदै आएको छ।

यसै साता ब्राजिल र अर्जेन्टिनाले साझा मुद्राको सिर्जना गर्ने योजना घोषणा गरिसकेका छन्। साझा मुद्रालाई दुई मुलुकहरू बीचको व्यापार बढाउन प्रयोग गरिने बताइएको छ। अमेरिकी डलरमा भर नपर्ने गरी वित्तीय उपाय खोज्नु आवश्यक रहेको अर्जेन्टिनी अधिकारीहरुको भनाई छ।


Sunrise Bank