
काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताएका छन्।
नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई दिँदै अग्रवालले निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक रहेको र अब कर्जाको ब्याजदर पनि घटाउनुपर्ने आग्रह गरेका हुन्।
उनले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले किस्ता तिर्न सक्ने अवस्थामा नभएकाले बताए। अग्रवालले बिना प्रोभिजन ऋणको पुनःसंरचना र पुनः तालिकिरण गरी सहयोग गर्न आग्रह गरेका छन्। उनले उद्योगहरुको प्रबर्द्धन गर्न बेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि अनुरोध गरे।
संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले परिसंघको सुझावलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए। उनले हाल बैंकहरुको प्रमुख समस्या बढ्दो निष्क्रिय कर्जा रहेको बताउँदै ब्याजदरलाई लिएर आन्दोलन नगर्न आग्रह गरेका हुन्।