नेगेटिभ रिपोर्टका बाबजुद अडानी इन्टरप्राइजेजको एफपीओ अन्तिम दिन एकैचोटी शतप्रतिशत बिक्यो

बिजमाण्डू
२०७९ माघ १७ गते १८:०४ | Jan 31, 2023
नेगेटिभ रिपोर्टका बाबजुद अडानी इन्टरप्राइजेजको एफपीओ अन्तिम दिन एकैचोटी शतप्रतिशत बिक्यो

काठमाडौं। हिन्डेनबर्गको प्रतिवेदनले केही अप्ठेरो परेपनि गौतम अडानीको अडानी इन्टरप्राइजेजको एफपीओ शतप्रतिशत बिक्री भएको छ।

Tata
GBIME
Nepal Life

गौतम अडानी आफैं सक्रिय हुँदा इन्टरप्राइजेजको २.५ अर्ब डलरको फलोअन पब्लिक अफरिङ (एफपीओ) मा अन्तिम दिन शतप्रतिशत आवेदन परेको हो। मंगलबार बिक्री बन्द हुनु अगावै एकाएक खरिदकर्ता ओइरिएका थिए।

एफपीओ कम्तिमा पनि ९० प्रतिशत बिक्री हुनुपर्ने व्यवस्था छ। त्यसो नभएमा अडानीले सम्पूर्ण आवेदकहरुलाई आवेदन बापतको रकम फिर्ता गर्नु पर्थ्यो। भारतीय अर्बपति अडानीले आफ्नो औद्योगिक साम्राज्यलाई लक्षित हिन्डेनबर्गको रिपोर्टका बाबजुद लगानी जुटाउन सफल भएका हुन्।

सोमबारसम्म भारतकै सबैभन्दा ठूलो बुक बिल्डिङ प्रक्रियामा ३ प्रतिशत मात्र आवेदन परेको थियो। मंगलबार आवेदनकर्ता ह्वात्तै बढेर शतप्रतिशत पुगेको हो। एफपीओमा संस्थागत लगानीकर्तालाई आरक्षित सेयरमा पनि तीव्र रुपमा आवेदन परेको छ।

हिन्डेनबर्गको प्रतिवेदनले छिन्नभिन्न भएका अडानी समूहका सेयर पछिल्लो एक सातादेखि लगातार घटिरहेका छन्। अडानीले उक्त प्रतिवेदनलाई निराधार भनेता पनि लगानीकर्ताको मनोबल डगमगाउँदा सेयर बजारबाट कुल पुँजीकरणको ६५ अर्ब डलरभन्दा बढी गुमाइसकेका छन्। समूहका मियो गौतम अडानी स्वयमको सम्पत्ति ४० अर्ब डलर घटिसकेको छ।

अडानी इन्टरप्राइजेजको २० हजार करोड भारुको एफपीओ शुक्रबारदेखि दलाल स्ट्रिटमा बिक्री खुलाएको थियो। 

अडानीका लागि एफपीओ पूर्ण रुपमा बिक्री हुनु महत्वपूर्ण विषय बनेको छ। यो भारतको सबैभन्दा ठूलो फलोअन अफर र ऋण घटाउने माध्यम मात्र होइन। यसको सफलताले लगानीकर्ताको अडानी प्रतिको विश्वास साबित गर्ने समीक्षकहरुको टिप्पणी छ। 

कम्पनीले एफपीओबाट आर्जन गरेको रकम अडानी इन्टरप्राइजेज लिमिटेड र यसका सहायक कम्पनीहरूको ऋण चुक्ता गर्न प्रयोग गरिने स्पष्ट पारेको छ। यो केही रकम पुँजीगत खर्चमा पनि परिचालन हुने कम्पनीले जनाएको हो। आर्थिक वर्ष २०२२ को अन्त्यसम्म अडानी समूहको कुल ऋण ४०% बढेर २.२ ट्रिलियन भारु अर्थात २६.८३ अर्ब डलर पुगेको छ।

बिजनेस टाइकुन अडानीले आफ्नो सबैभन्दा प्रतिकुल अवस्थाको सामना गर्दै गर्दा यो व्यापारिक चुनौती मात्र नभएर उनको प्रतिष्ठा माथि ठूलो प्रश्न चिन्ह नै हो। उनको फर्मले बारम्बार लगानीकर्ताहरू आफ्नै पक्षमा उभिने दाबी गर्दै एफपीओ जसरी पनि बिक्री हुने बताएको थियो। 

यद्यपि सोमबारसम्म स्थिति नाजुक देखिएको थियो। बिक्री नै नहुनेसम्मका आशंका पनि उब्जिन थालेका थिए। बिक्री बारे संशय थपिएपछि एक समय बिक्री प्रबन्धकहरुले डिस्काउन्ट रेट बढाएर १० प्रतिशत पुर्‍याउन र आवेदन म्याद समेत लम्ब्याउन सुझाएका थिए।

अडानीको सेयर अहिले २९६८ भारुमा किनबेच हुँदैछ। जुन एफपीओका लागि तोकिएको तल्लो मूल्य भन्दा ४.८५ प्रतिशत कम हो। एफपीओको न्यूनतम बिक्री मूल्य ३११२ भारु तय भएको छ। कम्पनीले एफपीओ प्राइसको माथिल्लो प्राइस ब्यान्ड प्रति कित्ता सेयर ३ हजार २७६ भारु तोकेको छ।

कम्पनीको सेयर गत वर्ष लगभग १३० प्रतिशतले बढेको थियो। यस वर्ष भने अहिलेसम्म यसको सेयर करिब ७ प्रतिशतले घटेको छ। अडानी ग्रुपका अन्य कम्पनीहरूको पनि सेयर मूल्यमा गत वर्ष शतप्रतिशतभन्दा बढीले वृद्धि आएको थियो। यसले गर्दा केही लगानीकर्ताहरूले कम्पनीहरूको सेयर ओभर भ्यालु भएको भन्दै चिन्तित भएका थिए।

शुक्रबार र सोमबार अडानी समूहले योग्य संस्थागत लगानीकर्ताहरुलाई आकर्षित गर्न निरन्तर छलफल र व्यापक वार्ता गरिरहेको छ। 

सोमबार जुपिटर एसेट म्यानेजमेन्ट, बीएनपी परिबास, सोसाइटी जेनेरेल र गोल्डम्यान साच जस्ता अन्तर्राष्ट्रिय लागनीकर्ताहरुबाट एफपीओको माग भएको छ। मंगलबार विदेशी संस्थागत लगानीकर्ताले १० लाख भारुभन्दा बढीको बोलपत्र पेस भएको तथ्यांकले देखाएको छ। एफपीओमा खुद्रा लगानीकर्ताहरूको माग ज्यादै न्यून देखिन्छ। 

यसबीच आबुधावीस्थित इन्टरनेसनल होल्डिङ कम्पनीले ३२ अर्ब ७७ करोड भारु बराबरको एफपीओको खरिद गर्ने जनाएको छ। कुल ४०० मिलियन डलर लगानी गर्ने चाहना कम्पनीले व्यक्त गरेको हो। यो कुल एफपीओको १६ प्रतिशत हिस्सा हो। लगानीकर्ताको विश्वास पुनर्स्थापित गर्न पनि अडानी समूहको एफपीओमा ९० प्रतिशतभन्दा बढी आवेदन आउनुपर्ने जानकारहरुको तर्क छ।

हिन्डेनबर्गको प्रतिवेदनको नतिजाले विश्वव्यापी ध्यान अडानी समूहको एपपीओ प्रति खिचेको छ। गत हप्ता फोर्ब्सको धनी सूचीमा तेस्रो स्थानमा रहेका अडानी अहिले विश्वको आठौं स्थानमा ओर्लिएका छन्। मंगलबार तीव्र रुपमा अडानी समूहको सेयर मूल्य घट्दा उनी ११औं स्थानमा झरिसकेका थिए।

हिन्डेनबर्गले आफ्नो प्रतिवेदनमा अडानी समूहको ‘यूएस-बण्ड’ र ‘गैरभारतीय ट्रेड डेरिभेटिभ’हरू उपयोग गरी सर्टसेलिङ पोजिसनमा बसेको छ। मंगलबार पनि अडानी पोर्ट्सद्वारा जारी गरिएका ‘डलर-डिनोमिनेटेड बण्ड’ र ‘स्पेसल इकोनोमिक जोन’मा गिरावट जारी छ।