चर्किएको महँगीले जीवनयापन लागत ह्वात्तै बढेको आइएमएफको प्रतिवेदन, विश्वभर आर्थिक मन्दी

बिजमाण्डू
२०७९ माघ १७ गते १४:२२ | Jan 31, 2023
चर्किएको महँगीले जीवनयापन लागत ह्वात्तै बढेको आइएमएफको प्रतिवेदन, विश्वभर आर्थिक मन्दी

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी रहने प्रक्षेपण गरेको छ। आइएमएफले विकसित मुलुकहरुमध्ये बेलायतको अर्थतन्त्र मात्रै ०.६ प्रतिशतले साँघुरिने प्रक्षेपण गरेको छ। बाँकी उन्नत अर्थतन्त्र भएका देशहरुको तुलनामा बेलायतले सन् २०२३ मा खराब प्रदर्शन गर्ने आइएमएफको अनुमान छ।

Tata
GBIME
Nepal Life

चर्किएको महँगीले विश्वभर जीवनयापनको लागत ह्वात्तै बढेर सर्वसाधारणलाई असर गर्न सुरु गरेको आइएमएफले टिप्पणी गरेको छ। आइएमएफले सन् २०२२ मा बेलायतको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको थियो। सन् २०२३ को जुन महिनामा यो बृद्धिदर ०.६ प्रतिशतले घट्ने आइएमएफको प्रक्षेपण छ।

पछिल्लो समय लयमा फर्किएको अर्थतन्त्रका बाबजुद बेलायतको कुल ग्राहस्थ उत्पादन ०.३ प्रतिशतले साँघुरिने आइएमएफले जनाएको छ। आइएमएफका अनुसार विकसित अर्थतन्त्रहरूमध्ये बेलायत एक मात्र यस्तो मुलुक हो जसको जिडिपी घट्दो छ।

इन्धनमा भइरहेको उच्च मूल्यवृद्धिसँगै चर्किएको मुद्रास्फितीले अर्थतन्त्रमा प्रतिकुल अवस्था निर्माण गरेको हो। सन् २०२२ डिसेम्बरसम्म बेलायतको मुद्रास्फीति दर १०.५ प्रतिशत छ। अक्टोबर महिनामा महँगी दर ११.१ प्रतिशतसम्म उक्लिसकेको थियो जुन सन् १९८१ यता कै सर्वाधिक समेत हो।

आइएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गौरिन्चसले भने, ‘२०२२ को लागि, बेलायतले ४.१% मा अत्यन्त बलियो आर्थिक वृद्धि लिएको थियो।’ उनले पोहोर युरोपमा सबैभन्दा बलियो वृद्धिदरमध्ये बेलायत पनि रहेको बताएका हुन्। 

तर सन् २०२३ मा आइएमएफले बेलायत तीव्र मन्दीमा जाने पूर्वानुमान गरिरहेको छ। जस कारण आर्थिक वृद्धिदर नकारात्मक हुनेछ। उच्च मुद्रास्फीतिविरुद्ध बैंक अफ इंल्याण्डले मौद्रिक नीतिलाई कडाइ पूर्वक लागू गरेको छ। 

बैंक अफ इंल्याण्डले डिसेम्बर २०२२ मा ब्याजदर ०.५ प्रतिशतले बढाएर ३.५ प्रतिशत पुर्‍याएको छ। नोभेम्बरमा ब्याजदर ०.७५ प्रतिशतले बढाएको थियो। लगातार दशौंपटक ब्याजदर वृद्धि गरेको हो। ब्याजदर १९८९ यता कै उच्च विन्दुमा पुगेको छ। कर्जाको ब्याजदर पनि सन् २००८ यताकै बढी हो।

अर्कोपट्टि २०२३ मा विकसित अर्थतन्त्रहरुको वृद्धिदर नै खुम्चिने प्रक्षेपण छ। पोहोर विकसित मुलुकहरुको अर्थतन्त्र २.७ प्रतिशतले बढ्ने अनुमान आइएमएफको थियो। जुन चालु वर्षका लागि १.२ प्रतिशत मात्र रहने आइएमएफको प्रक्षेपण हो।    

सन् २०२२ मा ३.४ प्रतिशत रहेको विश्वव्यापी वृद्धिदर २०२३ मा २.९ प्रतिशत झरेको छ। जुन सन् २०२४ मा पुन: ३.१ प्रतिशतमा पुग्ने आइएमएफको प्रक्षेपण हो।

आइएमएफले विश्वव्यापी मुद्रास्फीतिको अनुमान अनुसार २०२३ मा ६.६ प्रतिशत पुग्ने र २०२४ मा ४.३ प्रतिशतमा झर्नेछ। २०२२ मा विश्वव्यापी मुद्रास्फीति ८.८ प्रतिशतसम्म उक्लिने अनुमान आइएमएफको थियो।