निक्षेपको ब्याजदर घटेर सेयर बजारलाई केही भएन, कर्जाको ब्याज घट्ने प्रतिक्षामा लगानीकर्ता

बिजमाण्डू
२०७९ माघ १६ गते ०७:३० | Jan 30, 2023
निक्षेपको ब्याजदर घटेर सेयर बजारलाई केही भएन, कर्जाको ब्याज घट्ने प्रतिक्षामा लगानीकर्ता

काठमाडौं। निक्षेपको ब्याजदर घट्ने निश्चित भएपनि सेयर बजारले विपरित प्रतिक्रिया दिएको छ। जसलाई कर्जाको ब्याज समायोजनपछि मात्र बजार बढ्ने पूर्व संकेतका रुपमा लगानीकर्ताहरुले बुझेका छन्।

Tata
GBIME
Nepal Life

ब्याजदर सम्बोधन हुँदा बजारलाई थप बल मिल्ने सेयर समीक्षकहरुको तर्कलाई मिच्दै बजारले अहिले घट्दो लय समाएको हो।बैंकहरुले कर्जाको माग अझै नसुध्रिए ब्याज झन् तल ल्याउने प्रतिबद्धता समेत गरेका छन्। तर सेयर बजारमा माग र आकर्षण दुवै ह्वात्तै घटेको हो।

‘ब्याजदर घट्दा निजी क्षेत्रमा देखिएको उत्साह सेयर लगानीकर्तामा भने देखिएको छैन,’ एक ब्रोकर सञ्चालकले भने,’बरु राजनीतिक घटनाक्रमले लगानीकर्ताको सक्रियता बढाएको थियो।’

नयाँ सरकार आएपछि राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेर व्यवसायीको माग पुरा गरेको थियो। जसले गर्दा बजार तीव्र रुपमा अघि बढ्न थालेको थियो। तर बाणिज्य बैंकहरुले आधार दर घटाएर ऋण सस्तो बनाउन निक्षेपको ब्याज घटाउँदा समेत बजारको आकर्षण कम भएको ब्रोकरहरु स्वीकार्छन्।

खासगरी उच्च ब्याजदरका कारण ऋणको माग उल्लेख्य रुपमा घटेको थियो। बैंकरहरुका अनुसार सीडी रेसियो कर्जा दिने अनुकुल हुँदा समेत माग छैन। जसलाई काउन्टर गर्न बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका हुन्।

१२.१३३ प्रतिशत पुगेको साधारण मुद्दतीको ब्याजदर नेपाल बैंकर्स संघको नयाँ कार्य समितिले माघमा ११ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। माघबाट बैंकहरुले व्याजदर घटाउन सुरु पनि गरिसकेका छन्। साधारण बचतको ब्याज ६ प्रतिशतमा झारेको छ। सँगसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याज कम गरेका छन्।

तर ब्याजदर घट्ने भएलगत्तै खुलेको बजारमा भित्रिनेभन्दा बचेरै उम्किनेहरु बढि भए। बजार अन्तत: ४१ अंकभन्दा बढीले घटेको थियो। पछिल्लो वृद्धिलाई हेर्ने हो भने बजार यति फराकिलो अंकसहित घटेको थिएन।

भोलिपल्टै बजारले अघिल्लो दिन गुमाएको करिब ८० प्रतिशत पुनरागमन समेत गर्‍यो। तर त्यसयताका प्राय: सबै कारोबारमा बिक्रेता हाबी छन्। उल्लेख्य उतारचढावसहित बजार घटिमात्रै राख्दा लगानीकर्ता पोजिसन लिने बारे पुनर्विचार गर्नुपर्ने बताउँछन्।

‘कर्जाको लागत अझैपनि सेयर बजारको रिटर्न रेटभन्दा बढी छ,’ ती लगानीकर्ताले बिजमाण्डूसँग भने,’ऋणको ब्याज समायोजन नभएसम्म सर्ट टर्म ट्रेडर नै बजारमा हाबी हुन्छन्। राष्ट्र बैंकको १२ करोडको क्याप पनि यथावत नै छ।’

बजारको आगामी लयको तय गर्न अप्ठ्यारो हुँदा कारोबारी बिच मोलतोलमा समेत असमझदारी देखिन सुरु भएको छ। जसको परिणाम साढे ७ अर्ब रुपैयाँ नाघेको कारोबार हिजोआज त्यसको आधा मात्र हुन थालेको छ।  

खासगरी बैंकहरुले निक्षेपको ब्याज घटाएर छापेपनि तत्कालै कर्जाको ब्याज तल आउँदैन। यसअघिको ब्याजदरले गर्दा निक्षेपकर्ता मुद्दतिमा बढी आकर्षित थिए। १२.१३३ प्रतिशतमा मुद्दति खोल्नेहरु आक्रामक रुपमा भित्रिएका हुन्।

जसले गर्दा वाणीज्य बैंकहरुमै ६० प्रतिशतभन्दा बढी डिपोजिट मुद्दति निक्षेप प्रकृतिको छ। जुन पोर्टफोलियोमा बैंकहरुले तुरुन्तै ब्याजदर घटाउन सक्दैनन्। यसले उनीहरुको लागतमा उल्लेख्य भिन्नता नआउँदा आधार दर तत्कालै तल झर्दैन। पुस मसान्तसम्मको तथ्यांकले आधारदर वृद्धि भएको देखिन्छ। बैंकको आधारदर १.९९ देखि ३.५३ प्रतिशतसम्म बढेको छ।

तर नयाँ मुद्दती भने घटेको ब्याजमा खोलिन्छ। यसले विस्तारै ऋणको ब्याजदर घट्ने बारे निश्चिन्त हुन सकिन्छ। यद्यपी अघिल्लो तीन महिनाको आधार दरको औसत हेर्दा वाणिज्य बैंकहरुको लागत बढ्ने देखिन्छ।

त्यसैगरी कर्जाको ब्याजदरलाई प्रत्येक तीन महिनामा मात्र फेर्न मिल्छ। विस्तारै घटेको लागत कर्जाको ब्याजदरमा समायोजन हुन अझै केही बेर लाग्ने हुँदा लगानीकर्ता त्यसको प्रतिक्षामा रहेको बजार जानकारहरु बताउँछन्।  

अर्कोतर्फ राष्ट्र बैंक ब्याजदर घटाउने निर्णय प्रति अझै सकारात्मक हुन सकेको छैन। वाह्य क्षेत्रमा केही दबाब कम परे पनि चुनौती हटिनसकेको राष्ट्र बैंकको टिप्पणी हो।

उसका अनुसार, बैंकहरुले निक्षेपसँगै ऋणको ब्याज महँगो पारेका कारण माग घटेर क्षतिग्रस्त बाह्य क्षेत्रमा सुधार आएको हो। प्रतिबन्ध गरिएका १० वस्तुको आयात खुल्दा र मार्जिनको व्यवस्था पनि हट्दै गरेको सन्दर्भमा ब्याज पनि घटाएर जाँदा भोलि समस्या पुन: फर्किन सक्ने गुनासो राष्ट्र बैंकको हो।

मागलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले नै नीतिगत हस्तक्षेपमा उत्रिएको हो। जसले गर्दा बैंकहरु कै लागत बढेको थियो। र, ऋणको ब्याजदर बढेको थियो।

तर निरुत्साहित भइहाल्नु पर्ने अवस्था भने नरहेको ब्रोकरहरु बताउँछन्। राष्ट्र बैंकले यस्तो धारणा ब्यक्त गर्दै गर्दा व्यवसायी समूह भने ब्याजदर घट्दा उत्साहित छ। ऋण लगानी गर्ने बैंकहरुको क्षमता नै संकुचित हुँदा ब्याजदर घटाउने पक्षमा बैंकहरु उभिएका छन्। उनीहरुले कर्जा माग पुन सन्तुलनमा नआए थप ब्याजदर समायोजन गर्ने बताएका छन्। चैत नजिकिएका कारण स्प्रेड दर पनि ४.२ प्रतिशतमा झर्नेछ। र, असारसम्म ४ प्रतिशतमा ओर्लिसक्नेछ।  

ब्याजदर उचाक्ली बढ्दा उद्योग व्यवसाय धरासाही हुने अवस्थामा पुगेका थिए। उद्योगीहरुले कर्जा नै लिन नसक्दा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेका थिए।