उपभोक्ता तान्न गाडी शोरुम आकर्षक बनाउन हुँदैछ प्रतिस्पर्धा, एउटै शोरुममा ७ करोड खर्च

शुक्र गिरी
२०७९ माघ १५ गते १२:१३ | Jan 29, 2023
उपभोक्ता तान्न गाडी शोरुम आकर्षक बनाउन हुँदैछ प्रतिस्पर्धा, एउटै शोरुममा ७ करोड खर्च

काठमाडौं। नेपालमा गाडी बिक्री गर्दै आएका आधिकारिक बिक्रेताहरुले एउटै शोरुम निर्माण गर्न लगभग ७ करोड रुपैयाँसम्म खर्च गर्न थालेका छन्।

Tata
GBIME
Nepal Life

गाडी बिक्रेताहरु परम्परागत रुपमा संचालन भएका शोरुमहरुलाई आधुनिकरण गर्न लागि परेका देखिन्छन्। नयाँ ब्रान्डहरुले पनि अन्तर्राष्ट्रिय स्तरका शोरुमहरु खोलिरहेका छन्। यसका साथै सर्भिस सेन्टरहरुमा पनि लगानी बढाइरहेका छन्।

सवारी साधनको नयाँ डिजाइन तथा सुविधासहितको शोरुम खोल्न गाडी बिक्रेताहरु प्रतिस्पर्धा गरिरहेका छन्। गाडी उत्पादक कम्पनीहरुले पनि आधिकारिक बिक्रेताहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप शोरुम तथा सर्भिस प्रदान गर्न गाइड-लाइन दिने गरेका छन्।

यसमा जसरी गाडीहरुको डिजाइन र प्रविधिहरु एडभान्स हुँदै गएका छन् त्यसरी नै गाडी बिक्री गर्ने शोरुमहरुको पनि स्तर वृद्धि गर्दै लैजानु पर्ने उत्पादक कम्पनीहरुको गाइड-लाइन छ।

त्यसैले बिक्रेताले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको नयाँ लक्जरियस शोरुम खोल्न लागि परेका छन्।

सामान्य एक करोड लगानीमा निर्माण हुने शोरुम अहिले ७ करोडसम्म खर्च लाग्ने गरेको अटो व्यवसायीहरुले बताए।

गाडी बिक्रेताहरुले परम्परागत रुपमा संचालन भएका शोरुमहरुलाई नयाँ डिजाइनमा निर्माण गरिरहेका छन्। यस्तै लक्जरियस शोरुमहरु निर्माणमा स्थापित ब्रान्ड तथा भर्खरै नेपाली बजारमा प्रवेश गरेका नयाँ ब्रान्ड दुबै लागि परेका छन्। विद्युतीय गाडीका लागि डेडिकेटेड शोरुमहरु निर्माण भएका छन्।

‘हाल उत्पादकले बिक्रेता कम्पनीहरुलाई आफ्नो प्रोटोकल अनुसार नयाँ शोरुमहरु निर्माण गर्न भनिरहेका छन्,’ एक अटो व्यवसायीले भने, ‘यसका लागि बिक्रेता कम्पनीहरुले आफ्नो पैसा लगानी गर्नुपर्ने हुन्छ। नयाँ डिजाइन तथा सुविधाका शोरुमहरु निर्माण गर्न लगानी धेरै लाग्छ।’

यस्तै हुन्डाईले विद्युतीय गाडीको लागि भनेर भर्खरै संचालनमा ल्याएको थापाथलीको शोरुम निर्माणमा लगभग ७ करोड रुपैयाँ खर्च भएको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक दीपक थपलियाले बताए।

‘हामीले हुन्डाईको मापदण्ड र प्रोटोकल अनुसार अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको यो शोरुम निर्माण गर्न हाम्रो लगभग ७ करोड रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘यो शोरुममा प्रयोग भएका सम्पूर्ण सामाग्रीहरु कोरियाबाट ल्याइएका छन्। यो सबै रिसाइकल सामाग्री प्रगोग भएका छन्।’

यो शोरुममा आयोनिक-५ मा प्रयोग भएका रिसाइकल गर्न सकिने निर्माण सामाग्रीहरु प्रयोग गरिएका छन्। हुन्डाईले तयार पारेको सो शोरुममा ग्राहकहरुले केही नयाँपन अनुभव गर्न पाउनेछन्।

यस्तै बीवाइडीले भर्खरै नक्सालमा संचालनमा ल्याएको शोरुम निर्माणको खर्च पनि लगभग ५ करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ। बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी निर्देशक यमुना श्रेष्ठले यो शोरुम निर्माण गर्न ५ करोड रुपैयाँ खर्च भएको बताईन्।

‘शोरुम संचालनमा आएपनि पूर्णरुपमा बनिसकेको छैन्। यसका लागि आवश्यक निर्माण सामाग्री सबै चीनबाट आउदैछन्,’ उनले भनिन्, ‘कम्पनीको प्रोटोकल अनुसार शोरुम निर्माण गरिएको छ। त्यसैले खर्च धेरै लागेको हो।’

यस्तै काठमाडौंको नक्शालमा चांगनको नयाँ शोरुम संचालनमा छ। चिनियाँ ब्राण्ड चांगनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नयाँ शोरुम संचालनमा ल्याएको हो। यो शोरुम निर्माण गर्न ३ करोड रुपैयाँ खर्च लागेको एमएडब्लु वृद्धि अटोकर्पका बिजनेस हेड प्रसन्न पन्तले बताए।

यसै ग्रुपले बिक्री गर्ने फोटोनको पनि साढे २ करोड लगानीमा बालकुमारीमा अत्याधुनिक सुविधासहितको शोरुम निर्माण गरिसकेको छ।

यस्तै फक्सवागनले पनि नक्सालमा नयाँ जर्मन स्टेट अफ दी आर्ट शोरुम संचालनमा लयाएको छ। यो शोरुम पनि नयाँ डिजाइन तथा प्रविधिमा आधारित रहेको छ। यसैगरी मलेसियन ब्रान्ड प्रोटोनले पनि नयाँ शोरुम निर्माण गरेको छ। शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक बिक्रेता कम्पनी हो।  

यस्ता छन नयाँ शोरुमहरु

अहिले निर्माण भएका सबै शोरुमहरु बिक्रेता कम्पनीले ‘स्टेट अफ दी आर्ट’ का रुपमा संचालनमा ल्याएका छन्। ‘स्टेट अफ दी आर्ट’ भन्नाले डिजाइन, प्रक्रिया, सामग्री वा प्रविधिमा अहिलेसम्म हासिल गरेको विकासको उच्चतम स्तरलाई जनाउँछ।

एडभान्स डिजाइन तथा प्रविधिको सुविधा भएको शोरुमलाई विकास गर्न स्टेट अफ दी आर्टलाई मान्यता दिइन्छ। हाल विश्वमा भएका सबै नयाँ डिजाइनहरु यसैमा आधारित छन्। 

शोरुमहरुले इन्टेरियर एम्बियन्सलाई खुलापन र ताजा महशुस गराउने गरी डिजाइन र सजावट गरेका छन्। सकेसम्म इको फ्रेन्डली शोरुम बनाउन प्रयास गरिएको छ। प्लास्टिकको सट्टा फाइबरहरुका सामग्रीहरु प्रयोग गर्न थालिएका छन्।

यस्तै शोरुममा गाडीहरुमा प्रयोग भएका विभिन्न कम्पोनेन्टहरुको सबै विवरण विस्‍तृतमा हेर्न सकिने गरी राखिएको छ। यसो हुँदा गाडीभित्रको इन्टेरियर डिजाइनमा प्रयोग भएका सामग्रीहरु ग्राहकले प्रत्यक्ष रुपमा हेर्न पाउनेछन्।

ग्राहकको सुविधालाई विशेष ध्यानमा राख्दै शोरुममा वेटिङ लाउन्ज, वेलकम-रिसेप्सन एरिया, गाडी प्रदर्शन कक्षलगायत तयार पारिएका छन्।

कम्पनीहरुका अनुसार गाडी किन्न जाने ग्राहकलाई प्राय शोरुमले कफी, चियाको सत्कारसँगै स्न्याक्स समेत दिनेछ। अटो व्यवसायीहरु हाल निर्माण भएका सबै नयाँ शोरुमहरु पाँच तारे होटलको अनुभव दिने रहेको दाबी गर्छन।

अहिले संचालनमा आइरहेका नयाँ शोरुमहरु २५ सय वर्ग फिटदेखि ४ हजार वर्ग फिटसम्म ठुलो रहेका छन्। सबै शोरुमहरु अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि तथा डिजाइनमा निर्माण गरिएका छन्।