
काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले मर्जरका कारण बैंकहरुको आकार बढिरहेको र यस्तो अवस्थामा सरकारी बैंकहरु नै एकआपसमा गाभिने सम्भावना समेत रहेको बताएका हुन्।
अधिकारीका अनुसार नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र प्रत्येक नीति राष्ट्रिय वाणिज्य बैंकले अग्रणी रुपमा रहेर कार्यान्वयन गर्ने गरेको छ।
कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकको भूमिका सकारात्मक रहने जिकिर गरे। उनले बैंक नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धी हुनुपर्ने बताए।
बैंक संचालक समितिका अध्यक्ष डा. बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्ने उल्लेख गरे।
उनले संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङ सेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउने बताए।