
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोससँग भेट गरेका छन्। भेटमा मन्त्री पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरे।
पौडेल मन्त्री भएपछि पहिलो पटक विदेशी दातृ निकायसँग भेट गरेका हुन्। निर्देशक जर्भोसले विश्व बैंकका लागि नेपालसहित दक्षिण एसियाका माल्दिभ्स, र श्रीलंका मामिला हेर्छन्।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भइ प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु पुरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।
विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए।
विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडक लगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराए ।
अर्थमन्त्री पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहयोगले थप उचाइ लिने विश्वास व्यक्त गर्दै आयोजनाहरु सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए।
निर्देशक जर्भोसले अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरु प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे ।
उनले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानका लागि सहजीकरण गर्न अर्थमन्त्री पौडेललाई आग्रह समेत गरे।