
काठमाडौं। किमाथांका अरुण जलविद्युत आयोजनाको पावर हाउस (विद्युत गृह) को कम्पाउण्ड निर्माण ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण सोधिएको छ।
विद्युत उत्पादन कम्पनी लिमिटेडले डोलेश्वर महादेव निर्माण सेवा तथा सप्लायर्स प्रालिसँग स्पष्टीकरण मागेको हो।
कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। डोलेश्वरले संखुवासभामा निर्माणाधीन किमाथांका अरुण जलविद्युत आयोजनाको पावर हाउस (विद्युत गृह) वरिपरिको कम्पाउण्ड बनाउने जिम्मा पाएको थियो।
२०७८ चैत २१ गते ठेक्का पाएको ठेक्कामा कम्पनीले एक वर्षपछि अर्थात २०७९ चैत २० गतेभित्र काम पुरा गरिसक्नुपर्ने थियो।
तर हालसम्म पनि निर्माणस्थलमा गिटी तथा बालुवा संकलन बाहेक कुनै काम पनि नभएको सूचना उल्लेख छ। ‘पटक-पटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत काम सुरु हुन नसकेको हुदा ठेक्का सम्झौता बमोजिम कारबाही किन अघि नबढाउने ?’ सूचनामा भनिएको छ।
४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा प्रस्ताव गरिएको छ। यो नदी प्रवाहमा आधारित आयोजना हो।
आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। नेपाल विद्युत प्राधिकरण मातहतको एनइए इन्जिनियरिङ कम्पनीले सम्भाव्यता अध्ययन गरेको हो। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ।
चालु वर्षभित्र अध्ययन सक्ने योजना छ। आगामी वर्ष निर्माणमा जाने योजना रहेको आयोजनाको लगानीको मोडालिटी तय हुन बाँकी छ। ९२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।
यसबाट वार्षिक २९२४.६९ मेगावाट आवर विद्युत उत्पादन हुनेछ। ५ वर्षसम्म निर्माण पुरा गर्न सकिने सम्भाव्यता अध्ययनमा उल्लेख छ।