निगमको विकृति रोक्ने पर्यटनमन्त्रीको प्रतिबद्धता, ‘विमानको ककपिटमा छु, एकैचोटी जहाज उडाउँदैनौं’

बिजमाण्डू
२०७९ माघ ३ गते १६:३५ | Jan 17, 2023
निगमको विकृति रोक्ने पर्यटनमन्त्रीको प्रतिबद्धता, ‘विमानको ककपिटमा छु, एकैचोटी जहाज उडाउँदैनौं’


काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन्। यस्तै, उनले हवाई सुरक्षामा विशेष ध्यान दिने समेत बताए। उनले हवाई उडानलाइ व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उल्लेख गरे।

किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने बताए। आफू कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो। कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारेका छन्।

भने,’म जहाजको ककपिटमा छु। एकैचोटी जहाज उडाउँदैनौँ। सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ। जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन।’

 यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनको भनाइ छ। हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीले बताए।

‘काम गर्ने वातावरण बनाउनका लागि सबैभन्दा पहिलो सरसफाइ हुने भएकोले विमानस्थलदेखि सबै क्षेत्र अब सफा राख्न निर्देशनसमेत दिन चाहन्छु,’ उनले भने।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४०औं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका हुन्।