
काठमाडौं। नवनिर्मित सरकारमा कांग्रेसको सहभागिता नहुने भएपछि नेप्सेले पुन उछाल कायम गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको क्रममा कांग्रेसलाई पाखा लगाएपछि सेयर बजार फराकिलो अंकसहित उक्लिएको हो।
चार दिनपछि खुलेको सेयर बजार ३३ अंकले बढेको छ। पछिल्लो गिरावटले गर्दा पूर्णतया निश्चिन्त नभएकाले लगानीकर्ताको सक्रियता भने कम छ। साढे ७ अर्ब नाघेको कारोबार रकम सोमबार पौने ४ अर्ब रुपैयाँमा सिमित छ।
दुई दिन भारी उतारचढाव सहितको करेक्सनले गर्दा लगानीकर्तामा शंशय बढेको थियो। मुख्यतया ब्याजदर घटाउने बैंकहरुको निर्णयका बाबजुद बजारले ठूलो अंक गुमाएको थियो।
लगानीकर्ताले ब्याजदरको विषय, बाह्य क्षेत्रको अवस्था र आर्थिक एजेन्डाप्रति सरकारको प्रतिक्रतियालाई विश्लेषण गरेर बजारमा पुन: भित्रिने क्रम भने जारी छ।
ठिक एक साता अघि नयाँ सरकारले विश्वासको मत लिने क्रममा ९८ अंकको उतारचढाव लगानीकर्ताले अनुभव गरेका थिए। कांग्रेसले विश्वासको मत दिने भएपछि एमालेको विश्वास नयाँ सरकारले गुमाउने चर्चा बीच बजार भारी अंकले घटबढ भएको थियो। अर्थमन्त्री नै फेरिनेसम्मका गम्भीर चर्चा हुन थालेपछि सेयर बजारको मनोबल गिरेको थियो।
तर यस्तो अवस्था निर्माण नभएपनि बजारको ‘भोलाटिलिटी’लाई लिभरेज गर्न पाउँदा बजारबाट प्रोफिट बुक गरेर उम्कनेहरु बढेका थिए। बजार फराकिलो अंकसहित घटेको थियो। त्यस यताको करेक्सनमा लगानीकर्ताले बजार प्रवेश गर्ने अवसर पाएका छन्।
पछिल्लो पाँच महिनाको तथ्याङ्कले बाह्य क्षेत्रको अवस्था पनि सुधारिदैँ गएको देखाएको छ। यसले लगानीकर्ताको मनोबल अझ बढाएको हो। शोधानान्तर ४५ अर्ब ५८ करोड रुपैयाँ बचतमा छ। रेमिट्यान्स पनि बढ्दो छ। अर्कोतर्फ मुद्रास्फितिको दर साँघुरिएर ७.३८ प्रतिशतमा ओर्लिएको छ।