
काठमाडौं। दार्चुलामा निर्माणाधीन माथिल्लो चमेलिया जलविद्युत आयोजना तयार हुन लागेको छ। ४० मेगावाटको यो आयोजना आगामी वैशाखदेखि सञ्चालनका लागि द्रुत गतिमा निर्माणको काम भइरहेको छ।
प्रवर्द्धक अपि पावर कम्पनीले छैटौं आयोजनाका रुपमा निर्माण गरिरहेको यो आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेले बताए। ‘हामी छिटै परीक्षण उत्पादन थाल्छौं,’ उनले भने।
दार्चुलाको चमेलिया नदीमा आयोजना निर्माण भइरहेको हो। उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिने छ। आयोजना निर्माण सुरु भएको २४ महिनाभित्रै तयार हुन लागेको हो।
यो आयोजना २०८० वैशाखभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ। आयोजनाको विद्युतगृह, सर्ज टंयाक, सवस्टेशन निर्माण भइसकेको छ। बाँधस्थलको अन्तिम सिभिल कार्य भइरहेको छ। कम्पनीको यो आयोजना सञ्चालनमा आएपछि सेयरधनीहरुलाई आकर्षक लाभांश दिन सक्ने जनाएको छ।
आयात गरिएका मेसिनहरु साइटमा जडानको काम पनि सुरु भएको छ। आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाईमा रहेका कन्सोर्टियम बैंकहरुको लगानी छ।
दार्चुलामा कम्पनीले यस अघि ८.५ मेगावाटको नौगड गाढ जलविद्युत आयोजना र ८ मेगावाटको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाको निर्माण गरेर उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडेको छ।
कम्पनीले मिश्रित ऊर्जा नीतिलाई आत्मसात गर्दै ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य आयोजना, १ मेगावाटको ढल्केवर सौर्य आयोजना र १ मेगावाटको सिमरा सौर्य आयोजनाको निर्माण गरेर प्रसारणलाइनमा समाहित गरेको छ।
कम्पनीले दुई जलविद्युत र तीन वटा सौर्य ऊर्जा आयोजना सञ्चालन गरिरहेको छ।