के बजार बुलिस ट्रेन्डमै अघि बढ्छ? अर्थतन्त्रप्रति सरकारका गतिविधिले गराउँदैछ उतारचढाव

बिजमाण्डू
२०७९ पुष २८ गते ०८:५५ | Jan 12, 2023
के बजार बुलिस ट्रेन्डमै अघि बढ्छ? अर्थतन्त्रप्रति सरकारका गतिविधिले गराउँदैछ उतारचढाव

काठमाडौं। सेयर बजारले दिनहुँ जस्तो फराकिलो फड्को मार्न थालेपछि नयाँ ‘बुलिस चक्र’ बारे पूर्वानुमान गर्नेहरुको संख्या ह्‍वात्तै बढेको छ।

Tata
GBIME
Nepal Life

राजनीतिक कोर्स करेक्सन भएलगत्तै उछाल कायम गरेको बजार बुलिस चक्रमा जाने अनुमान पनि गर्न थालिएको छ। यतिबेला साना-ठुला कारोबारी मात्र नभएर सरकारको पनि ध्यान सेयर बजारमा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) स्वयंले पुँजीबजारको उत्साह नवगठित सरकार प्रतिको झुकाव जसरी बुझेका छन्।

‘निष्क्रिय बस्न थालेकाहरुको सहभागिता पनि पछिल्लो वृद्धिमा उत्साहपूर्ण देखिएको छ,’ ब्रोकर एसोसिएसनका नवनिर्वाचित अध्यक्ष धर्मराज सापकोटाले बिजमाण्डूसँग भने।

राजनीतिक आश्वासन पनि कार्यान्वयन हुँदै गर्दा लगानीकर्ता उच्च मनोबलका साथ बजार प्रवेश गर्न थालेका हुन्। उनका अनुसार नव प्रवेशीहरुको चासो बजारप्रति उत्तिकै बढ्न थालेको छ। 

यस्तै भ्यालुएसन बढेका कारण लगानीकर्ताले त्यही सेयर धितोमा राखेर कर्जा लिन सुरु गरेका छन्। जुन पुन: सेयर बजारमा भित्रिएको छ। २५ लाखसम्मको मार्जिन कर्जा दिन बैंकहरुलाई पनि जोखिमभार बढाउने बाध्यता छैन। त्यसैले स-सानो सेयर धितो कर्जा परिचालन हुन थालेको बैंकरहरु स्वीकार्छन्।

‘जोखिमको भार कम ब्योहोर्न परे बैंकले पनि कर्जा दिन त्यति सोच्नु पर्दैन। सेयर बजार बढे लगतै मार्जिन लोन लिन साना बढी उत्साहित छन्,’ एक बैंकरले भने,’ब्याजदर अझै पनि माथिल्लो तहमै छ। त्यसैले ठूला उद्योगीबाट कर्जाको माग कम हो।’

एलसी खोल्न बाहेकको कर्जाको माग नदेखिएको उनी बताउँछन्। सीडी रेसियो कर्जा दिन अनुकूल बन्दा पनि कर्जा लिन आउनेहरु कम छन्। ब्याज बढी भएका कारण ठूलो ऋण लगानी लगभग बन्द स्थितिमा छ। जसलाई काउन्टर गर्न ब्याजदर घटाउने अहिले बैंकरहरु‍बीच बहस समेत चलेको छ। अर्कोतर्फ आन्तरिक तरलता सुधार हुँदै गएकोले राष्ट्र बैंक पनि ब्याज दर घटाउने पक्षमा छ। 

ब्याजदर सम्बोधन हुँदा बजारलाई थप बल मिल्ने सेयर समीक्षकहरु स्वीकार्छन्। चालु पुँजी कर्जा मार्गदर्शन संशोधनपछि मिलेको ऊर्जाले अझै केहीबेर निरन्तरता पाउने उनीहरुको टिप्पणी हो। अर्थमन्त्री र प्रधानमन्त्रीले तरलता सुधार र ब्याजदर सम्बोधनको आश्वासन पनि सेयर बजार मैत्री छ। 

‘पुस मसान्तको प्रेसर बजारले सामान्य रुपमा लिएको छ। पुनर्कर्जा पनि प्रणालीबाट झिकिँदै गर्दा तरलतामा खासै दबाब छैन,’ मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष एवमं ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणि ढकालले भने, ‘बजार दबाबमुक्त लयमा हिडेको हो।’   

उनका अनुसार नयाँ सरकार आएपछि उत्साह पनि सृजना भएको छ। नयाँ सरकारले आर्थिक एजेन्डालाई प्राथमिकता दिने प्रतिबद्धता नै बजार फराकिलो फड्को मार्नुको प्रमुख कारण रहेको उनको बुझाई छ। पूर्व अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धको तिक्तताले अर्थमन्त्रालय र राष्ट्र बैंकका बीचमा चिसोपन थियो। नयाँ सरकार गठनसँगै सम्बन्धमा चिसोपन हटेकोमा लगानीकर्ता अझ बढी उत्साहित छन्। 

तर, नयाँ सरकारले विश्वासको मत लिने क्रममा अनुभव गरेको उतारचढावले बजार हाल राजनीतिक घटनाक्रमप्रति बढी निर्भर भएको देखाउँछ। मंगलबार प्रतिनिधिसभाको बैठक जारी रहँदाको बखत नै बजार ९८ अंकले घटिसकेको थियो। करिब ६२ अंक बढिसकेको बजार अर्को घण्टा नबित्त्दै ३७ अंक घटेको थियो। जसले लगानीकर्तामा संशय भने बढेको हो।

बजारको आधारभूत पक्ष कमजोर नै रहेको लगानीकर्ताको बुझाइ हो। ‘मन्दीको बेलामा पनि प्रतिफल दिएका कम्पनी छाडेर लगानीकर्ताको आकर्षण अझै बढी उतारचढावयुक्त कम्पनीमा छ,’ लगानीकर्ता निरन्जन टिबडेवालाले भने।

अर्थशास्त्रीहरु समेत तत्काल बाह्य क्षेत्र र सेयर बजार दुवै सुधारउन्मुख देखिए पनि ढुक्क भइहाल्ने अवस्था भने नरहेको बताउँछन्। लामो समय आयात प्रतिबन्ध र ब्याजदर वृद्धिका कारण बाह्य क्षेत्र हालको अवस्थामा फर्किएको छ। राष्ट्र बैंकले आयातित केही वस्तुमा शतप्रतिशतको मार्जिनको व्यवस्था पनि गरेको छ। परिणामस्वरुप आयात निरुत्साहित भएर लक्ष्य अनुसारको बाह्य अवस्था हासिल भएको थियो। तर, विद्यमान व्यवस्थालाई पुनः खुला गर्ने बित्तिकै पुरानै अवस्थामा पुग्ने हो की भन्ने चिन्ता छ। त्यसले फेरि लगानीकर्ताको मनोबल घटाउन पनि सक्छ।