
काठमाडौं। विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। विश्व बैंकद्वारा प्रकाशित विश्वव्यापी अर्थतन्त्र बारेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर साँघुरिने जनाएको छ।
अघिल्लो आर्थिक वर्षका विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरेको थियो। २०२३/२४ मा आर्थिक वृद्धिदर पुन: घटेर ४.९ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण छ।
२०२३ मा नेपाल मात्र नभएर दक्षिण एसियाली क्षेत्र कै आर्थिक वृद्धिदर ५.५ मा सीमित हुने भएको छ। २०२१/२२ मा ८.७ रहेको भारतको वृद्धिदर २०२२/२३ मा ६.९ पुग्ने प्रक्षेपण छ।
दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रमा रुस युक्रेन युद्धको बाझिटा पर्ने विश्व बैंकले जनाएको छ। जसले गर्दा अर्थतन्त्र प्रतिकूल अवस्था निर्माण हुँदै गएको छ। विश्वव्यापी रुपमा बढ्दै गएको कमोडिटीको मूल्यका कारण बढ्दो दरमा रहेको मुद्रास्फीतिले पनि असर गरेको हो।
मुद्रास्फीतिलाई सन्तुलनमा राख्ने प्रयासको क्रममा अधिकांश केन्द्रिय बैंकले बढाएको ब्याजदरले पनि अर्थतन्त्र खुम्चिँदो छ। आर्थिक चपेटाका कारण विशेषगरी व्यापार, पर्यटन व्यवसाय र उत्पादमुखी उद्योग सुस्ताएका हुन्।
अर्कोपट्टि विश्व बैंकले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। सन् २००९ को विश्वव्यापी वित्तीय संकट र कोभिड-१९ महामारीलाई पन्छाउने हो भने सन् १९९१ पछिको सबैभन्दा कमजोर वृद्धिदर हो।
महामारीबाट बाहिरिँदै गरेको वर्ष सन् २०२१ मा ५.३ प्रतिशतले भएको विश्वका धनाढ्य देशहरूको आर्थिक वृद्धिदर गत वर्ष झरेर २.५ प्रतिशतमा सिमित भएको थियो। यस वर्ष तीव्र रूपमा सुस्ताउँदै केबल ०.५ प्रतिशतमा सीमित छ।
विश्व बैंकका अनुसार अमेरिका, यूरोपेली देशहरू (यूरोजोन) र चीन जस्ता प्रभावशाली अर्थतन्त्र नै मन्दीमा जाने बताएको छ।