
काठमाडौं। वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा लाग्ने शुल्क नगद लिएर जानुपर्ने झन्झटको अन्त्य भएको छ। वीर अस्पतालमा फोनपे क्यूआरबाटै भुक्तानी गर्न सकिने सेवा सुरु भएको हो।
वीर अस्पतालमा डाइनामिक क्यूआरकोडको सिस्टमको सुरू गरिएसँगै बिरामीको उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको कम्पनीले जनाएको छ।
फोनपे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा क्यूआर कोडबाट भुक्तानी सुरु भएको छ। अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन पेमेन्ट गर्न र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको छ।
‘वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगद बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ। हामीले हरेक दिन अस्पताललाई प्रविधिमैत्री बनाउँदै लगिनेछ। यो सुविधासँगै अबदेखि टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिल्नुका साथै कुनै पनि सेवाको क्यूआरमार्फत भुक्तानी गर्न सकिने छ,’ वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले भने।