
काठमाडौं। चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। भन्सार विभागको तथ्यांक अनुसार यो मंसिरसम्म १३५३ युनिट विद्युतीय कार, जीप र भ्यानहरु नेपाल भित्रिएका हुन्।
विभागका अनुसार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको १३५३ वटा विद्युतीय गाडीहरु आयात भएका छन। यसबाट सरकारले भन्सार शुल्क मात्र १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ। गत वर्षको यही अवधिमा ९१३ युनिट विद्युतीय गाडी आयात भएका थिए।
यो मंसिर महिनामा मात्र ३५५ युनिट विद्युतीय गाडीहरु आयात भएका छन्। यो संख्या गत महिनाको भन्दा धेरै हो। गत महिना ३१३ युनिट विद्युतिय कार, जीप र भ्यान आयात भएका छन्।
सरकारले १०० किलोवाट क्षमता भन्दा माथि बढाएको करका कारण त्यो क्षमताभन्दा माथिका विद्युतीय गाडीहरुको आयात ५ महिनामा जम्मा ३३ युनिट मात्र भएको देखिन्छ।
यसमा पनि २०० किलोवाट क्षमताको ३० युनिट र ३०० किलोवाट क्षमताका ३ युनिट विद्युतीय गाडीहरु आयात भएका छन्। तर १०० किलोवाट क्षमतासम्मको विद्युतीय गाडीहरुको आयात १३२० युनिट भएको छ।
यसैगरी तीन पाङ्ग्रे विद्युतीय गाडीहरुमा ५ महिनामा ३ हजार ६६२ युनिट आयात भएका छन्।
सबैभन्दा धेरै भारतबाट आयात
भारतबाट सबैभन्दा धेरै ९४६ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। भारतबाट हाल टाटा कम्पनीको विद्युतीय गाडी धेरै आयात हुने गरेका छन्। टाटाले नेक्सन र टिगोर इभी नेपालमा बिक्री गरिरहेको छ। एक महिनामा मात्र २५७ युनिट नेक्सन र टिगोर इभी आयात भएका छन्। टाटा कम्पनीले यसको सप्लाई बढाएको छ।
यस्तै हालसम्म चीनबाट १९८ युनिट विद्युतीय गाडीहरु आयात भएका छन्। चीनबाट नेटा भी, बीवाइडी, एमजीलगायत अन्य कम्पनीको विद्युतीय गाडीहरु आयात हुने गरेका छन्। हाल नेपालमा बीवाइडीको एटो-३, नेटा भी आयात भइरहेका छन्। तर एमजीको भने सप्लाईमा समस्या आएका कारण आयात हुन सकिरेहको छैन।
यसैगरी कोरियाबाट हुन्डाई र कियाको २०२ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। हुन्डाईले कोना इभी र आयोनिक -५ बिक्री गर्दै आएको छ।
यस्तै अमेरिकाबाट ४ वटा आयात भएका छन्। अमेरिकाबाट टेस्लाको विद्युतीय गाडी आयात हुने गरेका छन्। यस्तै इन्डोनेसियाबाट पनि ३ वटा विद्युतीय गाडी आयात भएका छन्। यहा बाट वुलिङको एयर इभि आयात भएको हो।