अबबाट रात्रि बस नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने, के भन्छन् यातायात व्यवसायी?

बिजमाण्डू
२०७९ पुष ७ गते ११:३४ | Dec 22, 2022
अबबाट रात्रि बस नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने, के भन्छन् यातायात व्यवसायी?


काठमाडौं। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ। ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरि मुलुकको संघीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रि बस गोंगबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।

Tata
GBIME

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रि बस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र पार्किङ गर्नुपर्ने व्यवस्था गरिएको बताए।

'ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाइओभर निर्माणसँगै रात्रि बस चक्रपथ वरपर सञ्चालन हुँदा सवारीसाधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र संचालन गर्नुपर्ने व्यवस्था मिलाएका हौं,' प्रवक्ता भट्टले भने।

यसअघि रात्रि बस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, गोंगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ हुने गर्थ्यो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढंगले सेवा संचालन गर्ने गरि यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए।

'रात्रि बसलाई नयाँ बसपार्कबाट संचालन गर्नेबारे यातायात व्यवसायीलाई कुनै आपत्ति छैन। रातको समयमा व्यवस्थितरुपमा चढाउने र झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ', उनले भने।

अध्यक्ष स्वाँरले कार्यालय समयबाहेकका अन्य समयमा चक्रपथ वरपर सहज ढंगले चढाउने र झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले ट्राफिक जरिवना रकम पाँच सयबाट बढाएर एक हजार पाँच सय बनाएको भन्दै आपत्ति पनि जनाएका छन्। यातायात क्षेत्रलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ थियो।

२०५६ मा काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर काठमाडौं महानगरपालिका-२६ गोंगबुमा १६१ रोपनी क्षेत्रफलमा संचालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारीसाधन अटाउँछन्। उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत हुँदै आएका छन्।