चरम संकटका कारण जग्गाको भाउ ३० प्रतिशतसम्म घट्यो!, लिलामीमा राखिएका जग्गा पनि बिक्न छाडे

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ मंसिर २१ गते १२:४६ | Dec 7, 2022
चरम संकटका कारण जग्गाको भाउ ३० प्रतिशतसम्म घट्यो!, लिलामीमा राखिएका जग्गा पनि बिक्न छाडे


काठमाडौं। करिब एक वर्षअघि पूर्वाञ्चलमा रहेको विराट टिचिङ हस्पिटलले पूर्वाधार विस्तारका लागि नजिकैको जग्गा किन्ने प्रक्रिया अगाडि बढाएको थियो। 

Tata
GBIME
Nepal Life

हस्पिटल व्यवस्थापनले जग्गाधनीसँग नेगोसिएसन गर्दै कठ्ठाको ३२ लाख रुपैयाँ दिने प्रस्ताव गर्‍यो। तर जग्गाधनीले कठ्ठाको ३५ लाख भन्दा घट्न मानेन्। ठ्याक्कै एक वर्षपछि उनै जग्गाधनी आएर हस्पिटलले गरेको मूल्यमा जग्गा दिन तयार भए। तर हस्पिटल व्यवस्थापनले कठ्ठाको २५ लाख रुपैयाँ भन्दा बढी नदिने अडान राख्यो।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पनि छ। एउटा बैंकले त्यहाँको देवचुली नगरपालिकाको रजर क्षेत्रमा राजमार्गसँग जोडिएको जग्गा लिलामीको सुचना निकाल्यो। करिब १६ कठ्ठा जग्गा ५ करोड रुपैयाँ मोल तोकेर बैंकले लिलामीको आह्वान गर्‍यो। तर, त्यस क्षेत्रमा कुनै बेला कठ्ठाको करोडसम्म बिक्री हुनसक्ने भएपनि अहिले कठ्ठाको ८०-९० लाख रुपैयाँ पर्ने स्थानीय जग्गा व्यापारी बताउँछन्। 

जग्गाको आकार ठूलो भएकाले मूल्य केही कम हुनु स्वभाविक हो। तर, कठ्ठाको ८५ लाख रुपैयाँनै हिसाब गर्दा त्यो जग्गाको मूल्य १३ करोड ६० लाख रुपैयाँसम्म पर्छ। बैंकले भने जग्गा ५ करोड रुपैयाँ तोकेर लिलामी प्रक्रिया अघि बढाएको छ। तर पनि ग्राहक पाएको छैन। यी दुई उदाहरणले जग्गाको कारोबार मात्रै होइन भाउ पनि ओरालो लाग्न थालेको स्पस्ट हुन्छ। अर्थतन्त्र देखिएको मन्दीले घरजग्गा कारोबारसँगै मूल्य पनि घट्न थालेको हो।

८ महिनादेखि घरजग्गाको कारोबार घट्न थालेको थियो। केही महिना व्यवसायीले  'रिटेन' गरेकाले मूल्य घटेन। बैंकको चर्को ब्याज थेग्न नसकेपछि पछिल्लो दुई महिनादेखि भाउ नै घटेर जग्गाको कारोबार गर्न खोज्ने छन्। तर घटेर बेच्न खोज्दा समेत ग्राहक पाएका छैनन्।

नेपाल उद्योग परिसंघले गरेको अध्ययन अनुसार घरजग्गा कारोबार ४० प्रतिशतले घटेको छ भने घरजग्गाको माग ५२.८ प्रतिशतले घटेको छ।

संकट यतिसम्म चुलिएको छ कि अहिले बैंकहरुले धमाधम लिलामीमा चडाएका घरजग्गा पनि नबिकेर अलपत्र परेका छन्। आर्थिक मन्दीसँगै उधारो उठ्न छाडेको छ। यसले आम्दानी घटेको छ। अर्कोतर्फ ऋणको ब्याज दर लगभग दोब्बर भइसकेको छ। आर्थिक मन्दीका कारण एकातिर कुनै आर्थिक कारोबार छैन भने उच्च ब्याज दरले ऋण तिर्ने क्षमतामा कमी आइरहेको छ।

यी दुवै कारणले गर्दा बैंक तथा वित्तीय संस्थाको ऋण उठ्न छाडेको हो। ऋण उठ्न छाडेपछि बैंकहरुले धितो लिलाम गर्न थालेका हुन्। त्यही भएर केही बैंक तथा वित्तीय संस्थाले एउटै सम्पत्ति लिलामीका लागि पटक-पटक सूचना जारी गरिरहेका छन्। यो क्रम केही महिनायता ह्वात्तै बढेको छ। 

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले देशका सबै क्षेत्रमा भाउ नघटेको जिकिर गर्दै अप्ठेरोमा परेकाहरुले घटेर जग्गा बिक्री गर्न थालेको स्वीकार गर्छन्। उनी देशको पूर्व क्षेत्रको जग्गा व्यवसायमा पनि सक्रिय छन्। काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा अवस्था झन् बिकराल रहेको व्यवसायीहरु बताउँछन्। 

धेरै जग्गा कारोबार हुने इटहरी, विराटनगर, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रहरुमा पनि आर्थिक संकटले घरजग्गाको भाउमा नकारात्मक असर परेको छ। यी क्षेत्रहरुमा समेत जग्गाको दाम घटाएर बेच्ने व्यवसायीको संख्या बढ्दै गएको व्यवसायी बताउँछन्। मुख्य गरी बैंकिङ कर्जा चुक्ता गर्नुपर्ने व्यवसायीहरुले नै मूल्य घटाएर जग्गा बेच्ने क्रम बढेको छ।  

सरकार र राष्ट्र बैंक एकअर्कालाई सिध्याउन लाग्दा उत्पन्न नीतिगत कमजोरीका कारण घरजग्गासँगै देशको समग्र आर्थिक अवस्था शिथिल बनेको उनको विश्लेषण छ। सँगै सरकारले ल्याएको भू-उपयोग नियमावली कार्यान्वयनमा अनेक उल्झन आएका कारण घरजग्गा कारोबार नै ठप्प प्राय बनेको उनले बताए। 

‘स्पष्ट रुपमा भन्नुपर्दा घरजग्गाको मूल्य न घटेको छ, न बढेको छ। कारोबार नै सुस्त भएको बेला मूल्य ठूलो कुरो होइन। सरकारी नीति र संयन्त्रबीच आवश्यक समन्वय नहुँदाको परिणाम हो यो। घरजग्गाको मूल्य घट्नुको एउटा कारण हो जसले बैंकहरुबाट ऋण लिएर लगानी गर्नुभएको छ, अहिले ब्याज र सावाँ भुक्तानी गर्न नसकेर बाध्यताले मूल्य घटाएर बेच्नु परेको मात्रै हो,’ वाग्लेले बिजमाण्डूसँग भने, ‘जसले होल्ड गर्ने क्षमता राख्नु हुन्छ उहाँहरु आफ्नो प्रतिफल खुम्चिने गरी मूल्य घटाएर किन बेच्नुहुन्छ र?’

त्यसैगरी, काठमाडौं उपत्यकामा लामो समयदेखि घरजग्गा व्यवसाय गरिरहेका ओमबहादुर घर्ती कोरोना महामारीपछि उपत्यका भित्र जग्गाको भाउ धेरै बढ्न नसकेको बताउँछन्। जसका कारण धेरैलाई जग्गाको भाउ घटेको हो कि भन्ने लागेको छ, अवस्था ठ्याक्कै त्यस्तो भने नभएको घर्ती जिकिर गर्छन्। बैंकिङ कर्जा लिएर घरजग्गा व्यवसाय गरिरहेका धेरै व्यवसायीहरुको अवस्था नाजुक बनेकाले बाध्य भएर सस्तोमा प्रोपर्टी बेचिरहेको घर्तीले जानकारी दिए। त्यस्ता व्यवसायीहरुले जग्गाको मूल्य २५ देखि ३० प्रतिशत सस्तोमा बेचिरहेको देखिएको उनको भनाइ छ।

‘केही समय होल्ड गर्न सक्नेहरुले प्रोपर्टी सस्तोमा बिक्री गरिरहेका छैनन्। तर, जसले पैसा फिर्ता गर्नुपर्ने वा तिर्नुपर्ने बाध्यतामा हुनुन्छ वहाँहरुको अवस्था निकै नाजुक छ। काठमाडौंमा बेच्न राखेको प्रोपर्टी पनि बिक्री नभएर अवस्था बेहाल छ। चुनावपछि केही राम्रो हुन्थ्यो कि भन्ने थियो तर, पुस मसान्तको त्रैमासमा हामीलाई अझै गाह्रो पर्ने अनुभुति गरिरहेका छौं। अर्थतन्त्रमा अलि सुधार नदेखिएसम्म घरजग्गा स्ट्रेसमै पर्ने देखिन्छ। अझ प्रोपर्टी किन्ने मान्छे भेट्नै मुश्किल छ,’ घर्तीले बिजमाण्डूसँग भने।

यस्तै, चितवनलाई केन्द्र बनाएर घरजग्गा व्यवसाय गरिरहेका दिनेशकुमार चुके पनि अप्ठेरोमा परेकाबाहेक अरुले मूल्य घटाएर बिक्री नगरेको बताउँछन्। तर, उनले विगत ३ वर्षयता चितवन र त्यस आसपासका क्षेत्रहरुमा घरजग्गाको मूल्य नबढेको बताए। सरदर जग्गाको मूल्य वार्षिक औसत १० प्रतिशतभन्दा बढीले वृद्धि हुने गर्छ। चितवनमा भने त्यो अवस्था नरहेको चुकेले जानकारी दिए। जसका कारण मूल्य घटेको हो कि भन्ने धेरैलाई लागेको उनले सुनाए। 

चुकेका अनुसार अहिले चितवन क्षेत्रमा दुई किसिमबाट जग्गा कारोबार भइरहेको बताउँछन्।

‘जापानलगायतका देशहरुमा बस्ने नेपालीहरुले चुनावपछि बजार क्षेत्रका घर घडेरीको मूल्य बढ्छ कि भनेर ४-५ करोडको प्रोपर्टी किन्ने क्रम बढेको छ। अर्को भनेको काठमाडौंका सहकारीहरुले आफूले १० लाख रुपैयाँ कठ्ठामा किनेको जग्गा १६-१७ लाख रुपैयाँ कठ्ठामा बेचेर सेफ साइडमा बसिरहेका छन्। यसले वचतकर्ता र सहकारी दुवैलाई फाइदा भइरहेको छ। अहिले मेघौलीलगायतका क्षेत्रमा कठ्ठाको १४/१५ लाखमा राम्रो जग्गा बिक्री भइरहेका छन्,’ चुकेले बिजमाण्डूसँग भने।

त्यसैगरी, सरकारको भू-उपयोग नियमावलीका कारण अहिले स्थानीय तहहरुले सहज रुपमा जग्गा वर्गीकरणको काम गर्न नसकेकाले पनि घरजग्गा कारोबार प्रभावित बनेको उनले बताए।