
काठमाडौं। बुद्ध एयरले स्थापनाकालदेखि उडान गरेको दुईवटा विचक्राफ्ट जहाज हटाउने भएको छ। यी जहाज बिक्रीका लागि 'व्यापारिक डिल' अन्तिम चरणमा पुगेको छ।
कम्पनीका अनुसार मूल्यमा सहमति हुन भने बाँकी छ। 'दुवै जहाज र स्पेयर पार्ट्स समेत बिक्रीका लागि नेगोसिएसन चलिरहेको छ,' कम्पनीका बिक्री निर्देशक रुपेश जोशीले बिजमाण्डूसँग भने, 'अब केही दिनमै टुंगो लाग्छ।' उनका अनुसार क्यानेडियन कम्पनीसँग बिक्रीका लागि छलफल भइरहेको छ। डिसेम्बरभित्रै जहाज बिक्रीको टुंगो लाग्ने उनले बताए।
'जहाज बिक्रीका लागि क्यानेडियन कम्पनीसँग छलफल भइरहेको छ। पुरानो मोडल भएकाले पनि बिक्री गर्न लागेका हौं। पुरानो भएपछि स्पेयर पार्ट्सदेखि प्राविधिक जनशक्ति पनि पाउन मुस्किल हुने भएकाले फेजआउट गर्न लागेका हौं,' उनले भने।
बुद्धले पहिलो व्यवसायिक उडान यही जहाजबाट गरेको थियो। बुद्धले १९९७ अक्टोबर ११ मा पहिलो व्यावसायिक उडान गरेको थियो। कम्पनीले सुरुमा पोखरा र विराटनगरका लागि उडान गरेको थियो।
दुईवटा विचक्राफ्टमार्फत कम्पनीले पोखरा, भरतपुर लगायत गन्तव्यमा उडान सेवा दिँदै आएको छ।
दुईमध्ये नाइन एन-एइइ कलसाइनको विचक्राफ्ट बुद्धको पहिलो जहाज हो। उक्त जहाज कम्पनीले सन् १९९७ सेप्टेम्बर ३० मा खरिद गरेको थियो। यो ल्याएको एक वर्षपछि नाइन एन-एइडब्लु कलसाइनको दोस्रो विचक्राफ्ट सन् १९९८ सेप्टेम्बर २८ मा खरिद गरेको थियो।
१९ सिट क्षमताका यी जहाजमा पीटी-६-ए-६७ डीएस इन्जिन छ। टर्बाइन इन्जिनयुक्त उक्त जहाजमा ३३ हजार फीटसम्मको उचाइमा उडान गर्न सक्छन्। यो जहाजको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३५ लाख डलर छ।
तीन वटा एटीआर-७२ ल्याउने
बुद्धले विचक्राफ्ट बिक्री गरेर तीन वटा एटीआर-७२ सिरिजको जहाज ल्याउने भएको छ। बिक्री निर्देशक जोशीले एकै किसिमको जहाज प्रयोगमा ल्याउने उद्देश्यसहित विचक्राफ्ट विस्थापन गरेर एटीआर सिरिजका जहाज थप्न लागेको हो।
बुद्धले नै सुरुमा एटीआर सिरिजको जहाज नेपाल भित्र्याएको हो। तीनवटा एटीआर फेब्रुअरीसम्म खरिद गरिसक्ने बताउँदै त्यसपछि जहाज ल्याउने प्रक्रिया अघि बढ्ने उनले बताए।
एउटा जहाजबाट उडान थालेको बुद्धसँग अहिले १६ वटा पुगेको छ। कम्पनीको बजार हिस्सा ५६ प्रतिशत भन्दा माथि छ।