ब्याज भुक्तानी झन्डै दुई गुणा बढ्दा हाइड्रोको नाफामा असर, बढेको विद्युत बिक्री आयले पनि थेगेन

बिजमाण्डू
२०७९ मंसिर ८ गते १२:५३ | Nov 24, 2022
ब्याज भुक्तानी झन्डै दुई गुणा बढ्दा हाइड्रोको नाफामा असर, बढेको विद्युत बिक्री आयले पनि थेगेन

काठमाडौं। ब्याजदर ह्वात्तै बढेपछि कर्जा प्राथमिकतामा परेको जलविद्युत क्षेत्र चपेटामा परेको छ। हाइड्रोपावरहरुको विद्युत बिक्री बढेपनि नाफा खुम्चिएको हो। ब्याज भुक्तानीले फराकिलो फड्को मारे लगत्तै नाफामा असर परेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको पहिलो तीन महिना मै एकीकृत नाफा ३४.१९ प्रतिशत घट्यो। पोहोर असोजसम्म ३ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी नाफा गरेका जलविद्युत कम्पनी अहिले साढे २ अर्ब रुपैयाँमा सीमित छ। त्यही विद्युत बेचेको आयमा भने झन्डै ५२ प्रतिशतको छलाङ लिएको छ।

ब्याज आकासिँदा नाफा प्रभावित भएको छ। ३ अर्ब ४७ करोड रुपैयाँ जलविद्युत कम्पनीले ब्याज मात्र तिरेका छन्। जुन पोहोर सवा अर्ब रुपैयाँ पनि थिएन।

‘आम्दानी निश्चित हुने जलविद्युतको ब्याज दायित्व नै प्रमुख हो। पीपीए रेट पहिले नै निर्धारण हुन्छ। ब्याज बढे लगत्तै पहिले कै आयमा आयोजनाहरुले अतिरिक्त खर्च जोहो गर्ने हुन्,’ जलविद्युत लगानीकर्ता ज्ञानेन्द्र लाल प्रधानले भने। 

प्राधिकरणसँग विद्युत खरीदको पर्याप्त टाइम कभरेज र सम्पूर्ण आयोजनाको मूल्य अनुकुल पीपीएले हाइड्रोको आम्दानी ग्यारेन्टी गरिसकेको हुन्छ। तर ब्याजदरको उतारचढावले नाफालाई सोझै तलमाथि पार्छ। 

 निर्माण अवधि लम्बिनु र फजुल खर्च धेरै हुनु जलविद्युत क्षेत्रको ठूलो कमजोरी रहँदै आएको छ। तर यस पटक तरलताको सन्तुलन बिग्रिएपछि समग्र अर्थतन्त्रको लागत बढ्न गएको हो। निक्षेप बढाउन बैंक बाध्य भएपछि ब्याजको लागत पनि स्वत बढ्दै गएको छ। पोहोर असोजमा ५.४३ प्रतिशत रहेको निक्षेपको भारित औसत दर अहिले ८.१६ प्रतिशत छ। कर्जा ८.६९ प्रतिशतबाट १२.१९ प्रतिशत पुगिसकेको छ। 

जलविद्युतलाई आधारदरमा थप २ प्रतिशतभन्दा बढी प्रिमियम लिन बैंकले पाउँदैनन्। सरकारले प्राथमिकताको क्षेत्र भनेर घोषणा गरेको छ। सोही अनुसार राष्ट्र बैंकको प्रावधानले पनि निर्धारितभन्दा बढी ब्याज असुल्न प्रतिबन्ध गरेको छ।

तर आधार दर असोजसम्म १०.३४ प्रतिशत पुगिसकेको छ। एक वर्षअघि ७.५७ प्रतिशतमा सीमित वाणिज्य बैंकको आधारदर २.७७ प्रतिशत विन्दु उक्लिसकेको हो। जसको सोझो असर आयोजनाहरुको नाफामा परेको प्रधान बताउँछन्। 

अन्य क्षेत्रको व्यापार अनिश्चत हुँदा पनि बिजुलीको बजार जस्तोसुकै आर्थिक-सामाजिक संकटको बेला पनि घट्दैन भन्ने लागनीकर्ताको विश्वास अहिले धरमराएको हो। कुनैपनि परिस्थितिमा विद्युतको व्यापार सुरक्षित रहेको विश्वास लगानीकर्ताबीच स्थापित छ। जसको प्रभाव  कम्पनीहरुको सेयर मूल्यमा पटकपटक पर्ने गर्छ।

कोभिडमा पनि प्रभावित नभएको यो व्यवसाय ब्याजदरले गर्दा खुम्चिएको व्यवसायी गुनासो गर्छन्। कोभिड-१९ का कारण अन्य उद्योग व्यवसाय प्रभावित भएर खुम्चिएका थिए। तर जलविद्युत कम्पनीहरुको व्यापारमा कुनै असर परेको थिएन। बरु कम ब्याजदर र पानीको बहाव बढी हुँदा आम्दानी ह्वात्तै बढेको थियो। जसले गर्दा उनीहरुको सेयर मूल्य पनि एकाएक आकासिएको थियो।

तर लामो ट्रयाक रेकर्ड भएका कम्पनी समेत ब्याजदरको चपेटामा परेका छन्। आम्दानी शतप्रतिशत बढाउँदा पनि अपेक्षित नाफा कमाउन सकेका छैनन्। कम्पनीको वित्तीय अवस्था संकुचनमा जाँदा सेयर मूल्य पनि साँधुरिदो छ। अधिकतम कम्पनीका सेयर ३०० रुपैयाँ भन्दा कममा नै कारोबार हुँदैछ।

प्राय सबै सूचीकृत कम्पनीको ब्याज भुक्तानी रकम उल्लेख्य रुपमा बढेको देखिन्छ। पोहोरको तुलनामा कर्जा घटाउने र निर्माणाधिन केही आयोजना बाहेक अधिकांशको ब्याज खर्चमा वृद्धि छ। 

एकातिर ब्याजदर बढेको छ भने अर्कोतर्फ जलविद्युत क्षेत्रमा लगानी भित्रिन छाडेको व्यवसायीहरु उल्लेख गर्छन्। कर्जामा जलविद्युतमा सहुलियत पाएपनि लगानीयोग्य रकमको अभावले गर्दा निर्माणाधिन एवं नयाँ आयोजनामा लगानी जान छाडेको छ। प्रधानका अनुसार बैंकहरुले प्रतिबद्धता जनाएको जलविद्युत आयोजनाले पनि रकम पाएका छैनन्।