काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो।
आइतबार प्रकाशित सूचना अनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन् । प्रहरीका लागि यसअघि नै म्यादी प्रहरी भैसकेका व्यक्तिले प्रमुख प्राथिकता पाउनेछन्। यस्तै पुर्व प्रहरी, शसस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ।
कार्यालयका अनुसार असोज १४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। दरखास्त फारम देशका सबै प्रहरी कार्यालयहरुमा पाइनेछ।
सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैंया पारिश्रमिक तोकिएको छ। जसमा ४० दिनको कुल ३४ हजार ७ सय ६० प्राप्त गर्नेछन्। यस्तै खाद्यान्नका लागि ७२ सय र पोसाकका लागि ७ हजार खर्च उपलब्ध हुनेछ। एक म्यादी प्रहरी बराबर ४८ हजार ९ सय ६० रुपैंया खर्च हुनेछ।
यसरी सरकारले कुल म्यादी प्रहरीका लागि ५ अर्ब ६३ करोड ४ लाख रुपैंया खर्च गर्नेछ।