आन्तरिक उडानमा उत्साहजनक यात्रु, २०२२ को ७ महिनामै दुई वर्ष यताकै धेरैले यात्रा गरे

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ भदौ २० गते १३:३६ | Sep 5, 2022

काठमाडौं। हवाई सेवामा आन्तरिकतर्फ यात्रु संख्या धमाधम वृद्धि हुँदै गएको छ। कोभिड-१९ का कारण शिथिल व्यवसाय लयमा फर्किएसँगै आन्तरिक उडानमा यात्रु खचाखच छन्।

Tata
GBIME
Nepal Life

पछिल्लो एक वर्षमा हवाई सेवा व्यवसाय लयमा फर्किएको कम्पनीहरुको उडान र यात्रु संख्याको तथ्यांकले पनि पुष्टि गरेको छ। सीट संख्याका आधारमा सन् २०२० मा आन्तरिकतर्फ कुल १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले सेवा लिएका थिए। 

सन् २०२२ जनवरीदेखि जुलाईसम्मको ७ महिनामै यात्रु संख्या २६ लाख २३ हजार ४ सय ९२ पुगिसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

सन् २०२० को यात्रु संख्याका तुलनामा यो सात महिनामै हवाई यात्रुको संख्या ११ लाख ६५ हजार ९ सय ५३ ले वृद्धि भएको छ।

सन् २०२१ अवधिभर आन्तरिकतर्फ ३५ लाख ७६ हजार ९ सय ४२ यात्रुले सेवा लिएका थिए। सन् २०२२ को सात महिनाको आँकडा अनुसार सन् २०२१ को तुलनामा २०२२ मा आन्तरिकतर्फ यात्रु संख्या थप वृद्धि हुने वायुसेवा कम्पनीले जनाएका छन्।

मिति

जम्मा उडान अवतरण

यात्रु संख्या

सन् २०२०

३८६१०

१४५७५३९

सन् २०२१

८११७२

३५७६९४२

सन् २०२२ जनवरी-जुलाईसम्म

६१६९७

२६२३४९२

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै आन्तरिक यात्रुको सहभागिता उल्लेख्य रहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। 'कोभिड कालमा आठ महिनामा त हामी शून्यमा झरेका थियौं। पछि प्रोटोकल जारी गरेपछि यात्रुहरु मनग्य आए। कनेक्टीभिटी र फ्लाइट फ्रिक्वेन्सी वृद्धि हुँदै गएको अवस्था हो,' उनले भने, 'अनलाइन टिकट बुकिङको सुविधा सहज भएसँगै पनि यात्रु माग थप वृद्धि हुँदै गएको हो।'

यतिखेर हवाई इन्धनमा भएको मूल्यवृद्धिसँगै हवाई भाडादर पनि बढेको छ। त्यसले यात्रुलाई हवाई यात्रा महँगो नै छ। तैपनि काठमाडौंबाट मुलुकका प्रमुख सहर र प्रमुख सहरहरुबाट अन्य गन्तव्यमा यात्रु सहभागिता उल्लेख्य छ। 

कोभिड-१९ का कारण जारी गरिएको सस्तो उडान भाडादरका कारण यात्रुको माग क्रमबद्ध वृद्धि हुँदै गएको यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए। 'यो बिजनेसमा प्रतिस्पर्धा छ। वायुसेवा कम्पनीहरुले सानाभन्दा ठूला सिरिजका जहाज चलाउन जोड दिए, सानाका  तुलनामा ठूला जहाजले धेरै प्यासेन्जर बोक्छ। भाडादर तुलनात्मकरूपमा सस्तो हुन थालिसकेको छ,' उनले भने, 'हवाई यातायात सर्वसाधारणको पहुँचमा भएकाले पनि आन्तरिक उडानमा यात्रु बढेका हुन सक्छन्।'

यो सँगै आन्तरिक पर्यटकको घुमघामका लागि टिकटमा माग वृद्धि हुँदै आएको उनले बताए। बेला बेला कम्पनीहरुले ल्याउने अफरसँगै पर्वतीय उडानमा बढेको सहभागिता उत्साहजनक देखिएको उनले बताए। 

कोभिडयता मुलुकमा पर्यटकीय गतिविधि विस्तारै बढेकाले हवाई सेवा व्यवसायमा सकारात्मक प्रभाव परेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए। 'हामी अझै पनि ढुक्कको अवस्थामा छैनौ, हवाई इन्धनको भाउ घटेमा यात्रु संख्या अझ बढ्न सक्छ,' उनले भने।

कोभिड नियन्त्रणमा आएसँगै यतिखेर रोटर र फिक्स दुवै हवाई व्यवसायमा सुधार आएको वायुसेवा कम्पनीले जनाएका छन्। सुगम र दुर्गम गन्तव्यमा नियमित व्यवसायिक उडान गर्दै आएका हवाईजहाज र हेलिकोप्टर कम्पनीले सामान्यतया अवस्थाको तुलनामा यात्रु माग उल्लेख्य रुपमा आइरहेको जनाएका छन्।

पर्यटक आवगमनको नयाँ सिजन र दसैंको पूर्व सन्ध्यामा आन्तरिक तर्फको उडानका लागि अग्रिम बुकिङको माग पनि बढेको व्यवसायीले जनाएका छन्। यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १४ हजारभन्दा बढी यात्रुले उडान सेवा लिँदै आएका छन्।