नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा प्रवीणरमण पराजुली, वित्तीय क्षेत्रमा २० वर्षे अनुभव

बिजमाण्डू
२०७९ साउन ५ गते १६:०२ | Jul 21, 2022
नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा प्रवीणरमण पराजुली, वित्तीय क्षेत्रमा २० वर्षे अनुभव

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन्। पराजुलीले आगामी चार आर्थिक वर्षका लागि नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पद सम्हाल्ने भएका हुन्। 

Tata
GBIME

बीमा क्षेत्रको नियामक बीमा समितिले पराजुलीलाई मंगलबार पदबहालीको स्वीकृत दिएको थियो। सोहि अनुरुप पराजुलीले बुधबारदेखि नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत पदभार सम्हालेका छन्। 

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको ३४१ औँ बैठकले पराजुलीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपाल लाइफमा आबद्ध हुनुअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रूपमा ४ वर्षको कार्यकाल पूरा गरेका थिए।

उनीसँग नेपालको बीमा तथा वित्तीय क्षेत्रको करिब २० वर्ष लामो अनुभव छ। उनले सन् २००२ देखि डाबर नेपाल प्रालिबाट आफ्नो करिअरको सुरुवात गरेका थिए। 

सन् २००३ मा उनी एनएमबि बैंक लिमिटेडको इन्भेष्टमेन्ट (मर्चेन्ट) बैंकिङ विभागमा रिलेसनसिप म्यानेजरका रूपमा सामेल हुन पुगे। सन् २००६ देखि २००९ सम्म उनले कम्पनीको हेड इन्भेष्टमेन्टको रुपमा नेतृत्व सम्हालेका थिए।

जुन २००९ मा पुन: उनी मर्चेन्ट बैंकिङ प्रमुखका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा आबद्ध भए। सोलगत्तै अप्रिल २०१० मा उनले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने अवसर पनि पाएका थिए। २०१७ को अन्त्यसम्म उनले नबिल इन्भेष्टमेन्टको सीइओ भएर काम गरेका थिए। 

पराजुली सन् २०१५ जनवरीदेखि २०१७ डिसेम्बरसम्म मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष पनि थिए ।