खेर जाने ‘कफी ग्राउन्ड’ बन्न सक्छ मलको विकल्प, युरोपमा सफल उदाहरण, नेपालमा के छ अवस्था?

हेम रोकाहा/बिजमाण्डू
२०७९ असार ३१ गते १५:१४ | Jul 15, 2022
खेर जाने ‘कफी ग्राउन्ड’ बन्न सक्छ मलको विकल्प, युरोपमा सफल उदाहरण, नेपालमा के छ अवस्था?

काठमाडौं। नेपालमा कफी पिउने चलन राम्रैसँग फस्टाएको छ। साथीभाइ भेट हुँदा होस् या अफिसियल मिटिङ, कफीको माहोल बनिहाल्छ। कफीको यो बजारले कफी उत्पादक किसानदेखि वितरक र क्याफे सञ्चालकहरुलाई पनि फाइदा पुगेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७ /७८ मा नेपालमा ३ हजार ५६.७ हेक्टर क्षेत्रफलमा कफीको खेती गरिन्छ। जसबाट ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको थियो।

सो वर्ष ७२.३९ मेट्रिक टन (साढे ९ अर्ब बढी मूल्यको) कफी निर्यात भएको छ भने १९८.६७ मेट्रिक टन (साढे १० अर्ब बढी मूल्यको) आयात गरिएको छ। आर्थिक वर्ष ०७८/७९ मा यो क्रम बढेको छ। बोर्डका अनुसार नेपालमा हाल करिब ३१ हजार किसानले कफीको खेती गरिरहेका छन्।

एक उदाहरण …

कफीको सद्दे दाना त उपयोगी हुने भइ नै हाल्यो, तर प्रयोग भइसकेको ‘कफी ग्राउन्ड’को पनि पुनः प्रयोग गरेर सदुपयोग गर्न सकिन्छ। प्रयोग भइसकेको कफी ग्राउन्डलाई खेतीमा प्रयोग गरे यसले राम्रो मलको काम दिन्छ।

यसको गतिलो उदाहरण हो बेल्जियममा एक कम्पनीले त्यसै खेर जाने कफी ग्राउन्डलाई प्रयोग गरेर च्याउ उब्जाएको।

ब्रसेल्सस्थित ‘पर्मा फङ्गी’ले प्रयोग गरिएको कफी ग्राउन्डबाट महिनामा करिब २ हजार पाउण्ड च्याउ उत्पादन गर्दै आएको छ। फोहोर व्यवस्थापन गर्न डिजाइन गरिएको प्रणालीसहितको यो परियोजना ‘सर्कुलर इकोनोमी’मा आधारित रहेको कम्पनीको भनाइ छ।

पर्मा फङ्गीको टोलीले ब्रसेल्सका स्थानीय कफी पसलहरूबाट १०० किलोग्राम जति कफी ग्राउन्डहरू साइकलबाटै संकलन गर्छन्। कफी ग्राउन्डलाई ल्यान्डफिल साइटहरूमा फाल्न दिनुको सट्टा उनीहरुले त्यसलाई च्याउ उमार्न उपयोग गर्ने गरेका छन्।

कफी ग्राउन्डलाई कम्पनीमा ल्याएर च्याउको लागि पौष्टिकतत्वयुक्त माटो सिर्जना गर्न परालको साथमा झोलामा प्याक गरिन्छ।

अँध्यारो तथा ओसिलो कोठामा लगभग दुई हप्ता राखेपछि ती झोलाहरूलाई उज्यालो ठाउँमा ल्याइन्छ, जसमा च्याउ पलाउन थालिसकेको हुन्छ। च्याउ तयार भइसकेपछि कम्पनीको एक टोलीले अर्गानिक स्टोर तथा रेस्टुरेन्टहरूमा ती च्याउ डेलिभर गर्छन्।

यो एक प्रकारले पुनः चक्रको प्रक्रिया हो, जसमा ‘बाइप्रडक्ट’लाई खेर जान दिनुको सट्टा पुन: प्रयोग गरिन्छ।

नेपालमा के छ अवस्था ?

नेपालमा भने यसरी कफी ग्राउन्डको उपयोगिता र पुनः प्रयोगबारे कम ज्ञान भएको देखिएको छ।

वसन्तपुरमा रहेको हिमालयन जाभाले कफी ग्राउन्डको विभिन्न रूपमा पुनः प्रयोग होस् भन्ने हिसाबले यसलाई ग्राहकहरुलाई नि:शुल्क दिने गरेको छ। कफी ग्राउन्डको उपयोगिताबारे ज्ञान भएका ग्राहकहरुले यसलाई लैजाने गरेको जाभाका लिड बरिस्टा कमल गुरुङले बताए।

हिमालयन जाभा फेन्चाइजमा देशभर २० भन्दा बढी आउटलेटहरु छन्। बसन्तपुरस्थित हिमालयन जाभामा दैनिक दुईदेखि तीन किलोसम्म कफी खपत हुन्छ। अनि त्यति नै मात्रामा कफी ग्राउन्ड पनि निस्किन्छ।

त्यसरी निस्किने कफी ग्राउन्डको पुनः प्रयोग होस् भनेर जाभाले ढोकामै ग्राहकले देख्ने गरेको राख्ने गरेको गुरुङ बताउँछन्।

‘थाहा भएको ग्राहकहरुले सोधेर नै कफी ग्राउन्ड लैजानुहुन्छ,’ उनले भने, ‘गमलामा फुल लगाउन, करेसा बारीतिर मलको रूपमा प्रयोग हुन्छ यसको। कसै-कसैले त यसलाई छालामा स्क्रब गर्नको लागि पनि प्रयोग गर्नुहुन्छ।’

कफी ग्राउन्ड अम्लिय हुने भएकाले यत्तिकै प्रयोग गर्न नहुने उनले बताए। भने, ‘यसलाई माटोमा मिसाएर अलि कम एसिडिक बनाएर प्रयोग गर्नुपर्छ। नत्र यसले विरुवामा असर गर्छ।’

त्यस्तै, दरबारमार्गस्थित अरेबिका कफीले पनि सम्भव भएसम्म कफी ग्राउन्डलाई पुनः प्रयोगको लागि किसानलाई दिने गरेको छ। ७ वटा आउटलेट भएको अरेबिकामा दैनिक करिब १ किलो जति कफी खपत हुन्छ। जसबाट निस्किने कफी ग्राउन्ड कोही किसान लिन आए दिएर पठाउने गरेको अरेबिकाका संस्थापक विकास भण्डारीले बताए।

‘दिनमा एक किलो जति निस्किन्छ, कोही लिन आए दिएर पठाउँछौं, नत्र फोहोरसँगै फाल्ने गरेका छौं,’ उनले भने।

कफी ग्राउन्डको उपयोगिताबारे धेरैलाई ज्ञान नहुँदा पनि यो यसै फोहोर सरह फालिने गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘विदेशतिर त विभिन्न कुरामा यसको प्रयोग हुन्छ, तर नेपालमा भने यसको खासै उपयोग भएको पाइँदैन।’

त्यसैगरी, ११ वटा आउटलेटमार्फत ग्राहकहरुलाई कफी सर्भ गरिरहेको छ रेडमड कफीले। दरबारमार्गमा रहेको आउटलेटमा कफी ग्राउन्डको उपयोग भने हुन सकेको छैन। दैनिक निस्किने करिब आधा केजी जति कफी ग्राउन्ड फोहोरसँगै फाल्ने गरेको स्टोर इन्चार्ज कमला घिमिरेले बताइन्।

यसको उपयोग गर्ने कोही नहुँदा त्यसै खेर गइरहेको उनको भनाइ छ।

‘हामी आफैंले प्रयोग गर्न त्यस्तो ठाउँ नै छैन। अरु कोही लिन आए दिने थियौं। तर, अहिले हामीले यसलाई फोहोरसँगै फाल्ने गरेका छौं,’ उनले सुनाइन्।

यसअघि उनले काम गर्ने रेडमडकै अर्को आउटलेटमा भने कफी ग्राउड खोसाखोस हुने गरेको घिमिरेले सुनाइन्। यसको उपयोगिता बुझेकाहरुले त्यहाँबाट खोजी-खोजी लाने गरेको उनले बताइन्।

उनले भनिन्, ‘त्यहाँ अलि धेरै पनि निस्किन्थ्यो कफीको डस्ट। धेरैले खोजीखोजी लानुहुन्थ्यो, मेरो गमला, तरकारीबारीमा युज गर्न हुन्छ भन्दै। खोसाखोस हुन्थ्यो, कतिपयलाई त भाग पुग्दैनथ्यो।’

यसको सदुपयोग गर्ने गरि कोही लिन आए दिने घिमिरेले बताइन्।

ल्यान्डफिल साइटमा पुग्दा मूल्यविहीन हुन जाने कफी ग्राउन्डलाई गमलामा फूल फुलाउन नै प्रयोग गरे पनि यो मूल्यवान हुने देखिन्छ। यसबाट प्राकृतिक चक्रको पुनर्स्थापनामा पनि मद्दत पुग्ने देखिन्छ। यसको पुनः प्रयोगले प्रकृतिमा केही मात्रामा भएपनि फोहोर कम हुन्छ।