एक्सेल डेभलपमेन्ट बैंंकको घट्यो लाभांश, पोहोर १२.६३% दिएको बैंकको यसपटक ८.९५% प्रस्ताव

बिजमाण्डू
२०७९ असार १९ गते १०:४२ | Jul 3, 2022
एक्सेल डेभलपमेन्ट बैंंकको घट्यो लाभांश, पोहोर १२.६३% दिएको बैंकको यसपटक ८.९५% प्रस्ताव

काठमाडौं। झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश घटेको छ। गत वर्ष १२.६३ प्रतिशत बाँडेको बैंक सञ्चालक समितिले यसपटक ८.९५ प्रतिशत वितरण प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि बैंकले चुक्ता पुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ को ८.५० प्रतिशतले हुने ९ करोड ७९ लाख २ हजार ३३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो। कर प्रयोजनका लागि बैंकले ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख ४ सय ७० पुग्ने छ। बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो। 

बैंकले यसपटकको लाभांश प्रस्ताव आगामी साउन ५ मा हुने १६ औं वार्षिक साधारण सभाबाट पारित गर्नेछ। साथै उक्त सभामा १५औं वार्षिक साधारण सभाले दिएको अख्तियारीलाई निरन्तरता दिदै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने, उक्त कार्यका लागि सहमति पत्रमा हस्ताक्षर गर्ने लगायत प्रस्तावहरु पारित गरिने छ। 

साधारण सभा प्रयोजनका लागि बैंकले असार २८ गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजभन्दा अघिल्लो दिन अर्थात असार २७ सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नुका साथै सभामा भाग लिन सक्नेछन्। 

पूर्वका ५ जिल्ला इलाम, झापा, पाँचथर, सुनसरी र मोरङ कार्य क्षेत्र रहेको एक्सेलको केन्द्रीय कार्यालय बिर्तामोडमा छ।