एक रुपैयाँको सिक्का छाप्न डेढ रुपैयाँ खर्च, सिक्काले राष्ट्र बैंकलाई बर्सेनि १० करोड घाटा

अन्जना सुवेदी/बिजमाण्डू
२०७९ असार १९ गते ०६:५१ | Jul 3, 2022
एक रुपैयाँको सिक्का छाप्न डेढ रुपैयाँ खर्च, सिक्काले राष्ट्र बैंकलाई बर्सेनि १० करोड घाटा

काठमाडौं। गत पुससम्म बजारबाट सिक्का हराए। सार्वजनिक यातायात, औषधी, किराना र तरकारी पसल लगायतमा सिक्काको अभाव देखाउँदै धेरै सर्वसाधारण ठगिए। खुद्रा छैन भन्दै सिक्कामा दिनुपर्ने फिर्ता पैसा दिन छाडियो। 

Tata
GBIME
Nepal Life

अझ धार्मिक कार्यका लागि किलोकै दरमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सारसम्म पुगेका सर्वसाधारण पनि सिक्का नभएपछि खाली हात नै फर्कनु पर्‍यो। त्यसबेला बजारमा सिक्का छिटै ल्याउन राष्ट्र बैंकलाई दबाब परिरह्यो। अभाव हुन नदिन राष्ट्र बैंकले पनि ४ वर्षलाई पुग्ने गरी ५० करोडको एकमुष्ट सिक्का छाप्यो। हिसाबमा हेर्दा सिक्का पर्याप्त छ। तर अहिले बजारमा सिक्का सिक्का व्यवहारमा छैन। 

धेरैजसो ठाउँमा सर्वसाधारणले खुद्रा पैसा फिर्ता पाउनुपरे माया मार्नुपर्छ। डिपार्टमेन्टल स्टोर र किराना पसलबाट एक/दुई रुपैयाँ फिर्ता आउने भयो भने सिक्का होइन हातमा चकलेट आउँछ। पैसा दिनुस् भनेर सोधे जवाफ आउँछ 'सिक्का छैन।' यसरी प्रयोग हुने ठाउँमा नै सिक्का छैन भने कहाँ पुग्यो त ५० करोडको सिक्का?

राष्ट्र बैंकले गत पुसमा ५० करोड रुपैयाँ बराबरको सिक्का छापेको थियो। जसमा एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका २० करोड रुपैयाँ बराबरका थिए। उक्त छपाइमध्ये हाल पहिलो चरणमा १३ लाख थान मात्र सिक्का चलनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। जसमा एक रुपैयाँ दरको ९ करोड थान पोल्याण्डबाट र दुई रुपैयाँ दरको ४ करोड थान सिक्का बेलायतबाट  ल्याइएको हो।  

यस अघि बैंकले सन् २००९ मा ७४ करोड रुपैयाँ बराबरको सिक्का छापेको थियो। जसमा एक रुपैयाँ बराबरको ५२ करोड थान र दुई रुपैयाँ बराबरको २२ करोड थान थिए। 

सिक्काहरूको सांस्कृतिक महत्त्व भएकाले तिनको प्रयोग सांस्कृतिक तथा धार्मिक खपत हुने गरेको छ। देवीदेवताका नाममा खोलामा फाल्ने, लाखबत्तीमा हालेर डढाउने, मन्दिर लगायत ठाउँहरुमा भुइँमा छाप्ने, त्यसका अतिरिक्त तुलादान जस्ता सांस्कृतिक काममा ठूलो मात्रामा यसको प्रयोग हुन्छ। 

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल भन्छन्, 'तुलादान, मठन्दिर तथा पानीमा फ्याक्ने लगायत कार्यहरुमा सिक्काको प्रयोग बढी भएको हो। हाम्रो धार्मिक तथा सांस्कृतिक हिसाबले सुधार नभएसम्म यतातिर हाम्रो भूमिका कमजोर हुँदो रहेछ।'
यसरी धार्मिक रूपमा सिक्काको दुरुपयोग हुँदा राष्ट्र बैंकलाई बर्सेनि १० करोड रुपैयाँ घाटा हुने गरेको उनले बताए। 

'सिक्काको दुरुपयोग हुँदा राष्ट्र बैंकलाई ठूलो घाटा हुन्छ। घाटा भयो भनेर छाप्दिन भन्न मिल्दैन, यो हाम्रो दायित्व हो  चाहिए जति सिक्का र नोटहरु पुर्‍याउने काम राष्ट्र बैंकको हो। 
यस्तै मुद्रा विभागका निर्देशक विनोदराज आचार्य हाल विभागबाट लाखभन्दा बढी थान सिक्का बिक्री हुने बताउँछन्। उनका अनुसार अहिले औसत कार्यालय दिन दैनिक एक/एक लाख थान एक रुपैयाँ र दुई रुपैयाँ दरको सिक्का बिक्री हुने गरेको छ। 

सिक्काको मूल्यभन्दा बढी खर्च
एक/दुई रुपैयाँको सिक्का छाप्न कति लाग्छ ? तँपाइहरुलाई लाग्न सक्छ जतिको सिक्का हुन्छ त्यति नै खर्च लाग्छ । तर वास्तवमा नेपाल राष्ट्र बैंकले सिक्का बनाउन सिक्काको मूल्य भन्दा बढी मूल्य खर्चिएको हुन्छ। 

विभागका प्रमुख नेपालका अनुसार एक रुपैयाँ बराबरको एउटा सिक्का बनाउन १ रुपैयाँ ४० पैसा खर्च हुने गरेको छ भने दुई रुपैयाँको सिक्का बनाउन २ रुपैयाँ ७३ पैसा खर्च लाग्छ।