प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढमा, भन्छन् – विमानस्थल र फास्ट ट्रयाक बन्छ

बिजमाण्डू
२०७९ असार १८ गते १५:०२ | Jul 2, 2022
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढमा, भन्छन् – विमानस्थल र फास्ट ट्रयाक बन्छ

वीरगंज। विवादित निजगढ विमानस्थलबारे फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका नेताहरु शनिबार निजगढ पुगेका छन्। 

Tata
GBIME
Nepal Life

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न बारा आएको टोलीले डेढ घन्टा यहाँ बिताएको छ। टोलीमा प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, वन मन्त्री रामसहाय यादव, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र खानेपानी मन्त्री उमकान्त चौधरी लगायत केही सांसद र नेताहरु पुगेका थिए।

बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरु काठमाडौंबाट निजगढ पुगेका थिए। टोलीले निजगढ विमानस्थलका साथै काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को अनुगमन गरेका थिए। निजगढस्थित सेनाको ब्यारेकमा उनीहरुले विमानस्थल कार्यालयका कर्मचारीहरुसँग विमानस्थलको बारेमा ‘ब्रिफिङ’ लिएका थिए। सेनाले भने टोलीलाई फास्ट ट्रयाक निर्माणको प्रगतिबारे बताएको थियो।

ब्रिफिङपछि भ्रमण टोलीका सदस्यहरुले पर्यावरणको दृष्टिकोणले कमभन्दा कम क्षतिमा कसरी विमानस्थल बनाउनुपर्ने सरकारले प्रस्ताव सहितको योजना ल्याउने बताए।

प्रधानमन्त्री देउवा र शीर्ष दलका नेताहरुले निजगढ विमानस्थल तथा फास्ट ट्रयाक जसरी पनि सरकारले बनाउने बताएका थिए। देश विकासका लागि यी दुईवटा आयोजना महत्वपूर्ण भएकाले जसरी पनि बनाउनतर्फ सरकार केन्द्रित रहेको उनीहरुले बताएका थिए।

प्रधानमन्त्री सहितको टोली आजै १२: ३० बजे काठमाडौं फर्किएको छ।