
काठमाडौं। रोल्वालिङ खोला जलविद्युत आयोजनाले टेष्ट टनेल र सडकमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना निकालेर विगु गाउँपालिका-१ लामाबगर (साबिक लामाबगर गाविस) का २४ जनाको ८,७७० वर्गमिटर अधिग्रहण गर्न लागिएको जनाएको छ।
सरोकारवालाले ३५ दिनभित्र मुआब्जा दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्वन्धी निस्सा तथा प्रमाणसहित रितपूर्वक निवेदन दिन आयोजनाले आग्रह गरेको छ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गर्न लागेको हो। जसले माथिल्लो तामाकोसी ४५६ मेगावाटको आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ।
पूर्व तयारीको काम सकेर रोल्वालिङ आगामी वर्षबाट मुख्य संरचनाको निर्माणमै जाने तयारी छ। योजनास्थलसम्म पुग्नका लागि पहुँचमार्ग निर्माण र टेष्ट टनेलको काम धमाधम भइरहेको छ। हाइ हिमालयन हाइड्रोले पूर्व तयारीको काम गरिहेको आयोजनाले जनाएको छ।
आयोजनाले मुख्य निर्माणको कामका लागि पनि यस अघि ठेक्का निकालिसकेको छ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्ने गरि ठेक्का निकालिएको छ। कम्पनीले रोल्वालिङको मुख्य सुरुङमार्ग निर्माणसहितको ठेक्का निकालेको हो।
रोल्वालिङ तामाकोसीले जलविद्युतका लागि सहयोगी आयोजना हो। यो आयोजना सञ्चालनमा आएसँगै राष्ट्रिय ग्रीडमा २० मेगावाट विद्युत मात्रै थपिने छैन, तामाकोसीले सुक्खा याममा पनि ६ घण्टा ४५६ मेगावाट पिकिङ इनर्जी दिन सक्छ। तामाकोसी आयोजनाले अहिले सुक्खा याममा ४ घण्टामात्रै ४५६ मेगावाट दिन सक्छ।
रोल्वालिङ जलविद्युत आयोजनाले उत्पादन थालेपछि टेलरेस हुदै पानी तामाकोसीको लामाबगरस्थित जलाशयमा खसालिनेछ। जसले तामाकोसीको क्षमता बढाउनेछ।
करिब ६ किमि सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा निर्माण सक्ने योजना छ। यो नदी प्रवाहमा आधारित आयोजना हो।