कृषि सामग्रीको अर्घेल्याइँले भन्सारमा मल अलपत्र, ‘प्रक्रिया पुर्‍याए तत्काल लैजान दिन्छौं’

बिजमाण्डू
२०७९ जेठ २६ गते १३:१४ | Jun 9, 2022

काठमाडौं। मकैको सिजनदेखि नै मल अभाव भोग्न थालेका देशभरका किसान धानबाली पनि मल नपाएरै बिग्रने हो कि भन्ने चिन्तामा हुँदा मल आपूर्तिको जिम्मेवार निकाय कृषि सामग्री कम्पनीलाई भने यसले छोएको छैन। यदि कृषि सामग्रीलाई पनि मल अभावको चिन्ता किसानलाई जतिकै हुन्थ्यो भने एक महिनादेखि सयौं टन मल भन्सारमा अलपत्र रहेको हुँदैनथ्यो।

Tata
GBIME
Nepal Life

तातोपानी भन्सारको गोदाममा एक महिनादेखि ५०० मेट्रिक टन  युरिया मल यसै थन्किएर बसेको छ। यसैले मल नभएर होइन, भएको मलसमेत किसानसम्म नपुग्नुमा कृषि सामग्रीको गैरजिम्मेवारी देखिएको छ। 

रासायनिक मलको हाराकारमा किसानको छटपटी बढिरहँदा कृषि सामग्रीले भने परीक्षणका लागि कर्मचारी नै नपठाएकाले एक महिनाअघि नै भन्सारमा आइपुगेको उक्त मल सुख्खा बन्दरगाहको गोदाममा त्यहीँ ज्युँकात्युँ थन्किएको हो।

समयमै पानी परेका कारण उत्साहित भएका देशैभरका किसानहरु मल नपाएका कारण समस्यामा परेका छन्। खेती कसरी लगाउने भन्ने चिन्तामा छन्।

भन्सार कार्यालय पनि अत्यावश्यक रासायनिक मल भएकाले छिटो छुटाउन पाए हुन्थ्यो भन्नेमा छ। आयातकर्ता कम्पनीले  कृषि सामग्री कम्पनी लिमिटेडलाई भन्सार कार्यालयमा आइपुगेको मलको गुणस्तर तथा परिमाण एकिन गर्न ‘इन्सपेक्सन एन्ड टेष्ट’ (निरीक्षण तथा परीक्षण) का लागि  प्राविधिक पठाइनदिन पनि अनुरोध बारम्बार गरिरहेको छ। तर कृषि सामग्रीले भने यसमा अहिलेसम्म जाँगर देखाएको छैन। यही कारण भन्सारमै मल अड्किएर बसेको हो।तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार ९९७० बोरा युरिया मल एक महिनादेखि गोदाममा राखिएको छ। भन्सार प्रक्रिया पुरा गरे १५ मिनेटमा नै मल छोडिदिन सक्ने उनी बताउँछन्। 

लामो समय मल गोदाममा रहेका कारण तातोपानी भन्सार कार्यालयले कृषि सामग्री कम्पनी लिमिटेडलाई देशभर अभाव भइ किसानबाट उच्च माग रहेको तथा विभिन्न समुहबाट डेलिगेसन आएको भन्दै छुटाइ लैजानका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै बुधबार पत्राचार समेत गरेको छ (हेर्नुहोस् तल पत्र)। 

मलको चरम अभावको मारमा किसान परेको भएपनि कृषि सामग्री कम्पनी लिमिटेडले भने अहिलेसम्म प्रतिनिधि नपठाएकै कारण मल रोकिएको हो। 

भएको के हो ?
किसानलाइ अनुदानमा मल उपलब्ध गराउने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको नीतिअनुरुप खरिद गर्नका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। उक्त ठेक्का सिल्क/सिनोम्याक/ग्लोबल म्याटिक्स/विध जेभीले पाएको थियो। 

यो जेभीले प्रतिमेट्रिक टन ९४८ अमेरिकी डलर (११ लाख ७ हजार ५५२ रुपैयाँ) का दरले २५००० मेट्रिक टन मल कुल २ करोड ३७ लाख डलरमा आपूर्ति गर्ने दररेटको बोलपत्र पेश गरेको थियो। उक्त बोलपत्र स्वीकृत भइ मल आपूर्ति गर्नका लागि २४ नोभेम्बर २०२१ मा सम्झौता भयो।

कम्पनी र कृषि सामग्रीबीच  २९ मार्च २०२२ सम्ममा मल आपूर्ति गरिसक्नुपर्ने गरी करार सम्झौता भएको थियो।

सम्झौतापश्चात अन्तराष्ट्रिय बजारमा मलको अभाव भएका कारण चीनबाट ल्याउने प्रक्रिया उक्त जेभीले सुरु गर्‍यो। कम्पनीले चीनको छिङ्हाई युन्थियानहन इन्टरनेशनल फर्टिलाइजर कम्पनी लिमिटेडको सप्लायर जेन्झोउ ह्वाङमिङटोङ्गो ट्रेडिङसँग सम्झौता भएबमोजिम मल आपूर्तिका लागि प्रक्रिया अघि बढायो। तर चीन सरकारको दैनिक कोटा सिस्टमबाट नेपालतर्फ  सामान निर्यात गर्ने नीतिका कारण समस्या उत्पन्न भयो।

यसबीच नेपालको रसुवागढी र तातोपानी नाकामार्फत आयात तथा ढुवानी गर्नेगरी प्रक्रिया थालियो। जेभीले सहजीकरणका लागि सबै निकायसँग सहयोग माग्यो। तर पुनः ३ नोभेम्बरमा चीनले अकस्मात रासायनिक मल निर्यात बन्द गर्ने निर्णय गर्यो।

नेपाल सरकार तथा चीनस्थित नेपाली राजदूतावास समेतको पहलबाट करिब चार महिनापछि आपूर्ति खुल्ला भयो। त्यसपछि कम्पनीले पुन: मल ल्याउने प्रक्रिया अघि बढायो। सम्झौताबमोजिम मल ल्याउन चिनियाँ कम्पनीसँग मल खरिद गर्ने गरी २५ लाख ७८ हजार ७६५ अमेरिकी डलर जेभी पार्टनर ग्लोबल म्याटिकमार्फत भुक्तानी समेत गरिसकेको छ।

सोहीबमोजिम करिब एक महिना तातोपानी भन्सारमा ५ सय मेट्रिक टन मल आइपुगेको हो। यसबाहेक थप ३००० मेट्रिक टन मल चीनमै चीन सरकारद्वारा गुणस्तर परीक्षण सिपिङका लागि तयारीमा अवस्था छ।

अन्तरराष्ट्रिय बजारमा मलको अभाव तथा चीन सरकारको  निर्णयका कारण मल आपूर्ति हुन नसकेको कम्पनीका अधिकारीहरुको भनाइ छ।

तोकिएको मिति अर्थात् २९ मार्च २०२२ सम्ममा मल आपूर्ति हुन नसक्ने देखिएपछि कम्पनीले १३  फ्रेबुअरी २०२२ (२०७८ चैत २९ गते), २०७९ वैशाख २२, जेठ ५ गरी पठकपटक करार अवधी थप गर्नका लागि अनुरोध गरिएको थियो।

तर नाकामा मल आइपुगेपछि कृषि सामग्री कम्पनीले जेठ २ गतेको मिति राखि जेठ १० मा एक्कासी ठेक्का तोडेको पत्र ठेक्का पाएको कम्पनीलाई थमाएको आपूर्तिकर्ता कम्पनीका अधिकारीहरुको आरोप छ। त्यस्तै, उनीहरुले तातोपानी नाकामा आएको मलको गुणस्तर परिक्षणका लागि सर्भेयर नतोकिएको समेत भन्दै गुनासो समेत गरेका छन्।

ठेक्का पाएको जेभी कम्पनीले मल आपूर्तिका लागि जेठ मसान्तसम्ममा ५ हजार मेट्रिक टन, असार मसान्तसम्ममा १० हजार मेट्रिक टन र साउन मसान्तसम्ममा बाँकी १० हजार मेट्रिक टन आपूर्ति गर्ने प्रतिवद्धता जनाएका छन्।

ठेक्का तोडेपश्चात आपूर्तिकर्ता कम्पनीले उच्च अदालत पाटनमा जेठ १९ गते अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्‍यो। उक्त मुद्दामा अदालतले नाकामा रहेको मल र थप झिकाउनुपर्ने मलको थप सहजीकरण गरिदिन कृषि सामग्री कम्पनी लिमिटेडको नाममा जेठ १९ गते आदेश दिएको छ (हेर्नुहोस् तल आदेश) । उच्च अदालतका न्यायाधिशद्वय हरिप्रसाद पौडेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले आदेश दिएको हो।

कृषि सामग्री भन्छ – ठेक्का तोडेपछि मल ल्याइयो
कृषि सामग्रीले भने ठेक्का तोडिसकेपछि कम्पनीले मल ल्याइपुर्‍याएको जिकिर गरेको छ। कृषि सामग्रीका कामु प्रबन्ध संचालक राजेन्द्र कार्कीले कम्पनीले ठेक्का तोडेपछि मल ल्याएकाले स्वीकार गर्न नसकिएको बताए।

‘नियमअनुसार ल्याइएको छैन। नियमभन्दा बाहिर जान सक्दैनौं,’ उनले भने, ‘एलसी नै नखोली मल ल्याइएको छ। कसरी ल्याइयो हामी नै अचम्ममा परेका छौं।’ उनले एकातिरको नाकाबाट ल्याउनुपर्ने मल अर्को नाकाबाट ल्याएको समेत उनले बताए।