
काठमाडौं। मौसम प्रतिकुलता बाबजुद आन्तरिक तर्फ लुक्ला बाहेक सबै गन्तब्यका उडान यथावत छन्। बिहीबार बिहानैदेखि काठमाडौंमा वर्षा भएपनि उपत्यका बाहिर हुँदै आएका अधिकांश उडान प्रभावित नभएको त्रिभुवन विमानस्थलले जनाएको छ।
'लुक्ला बाहेक यतिखेरसम्म आन्तरिक तर्फका सबै गन्तव्य उडान यथावत रहेको छ। लुक्ला तर्फ बिहानैदेखि उडान प्रभावित छ,' विमानस्थलका एक कर्मचारीले भने।
विमानस्थलका अनुसार बिहीबार काठमाडौंबाट बुद्ध, यती, श्री, सौर्य, गुण, तारा, समीट, सीता लगायत विभिन्न वायुसेवा कम्पनीको कुल एक सय ३४ उडान तालिका रहेको छ।
बर्खाको समय मौसम पटक पटक परिवर्तन हुने भएका कारण विभिन्न वायुसेवा कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत आफ्ना यात्रुलाई अग्रिम जानकारी दिँदै आएको जनाएका छन्।