अर्थमन्त्रीसँग मौद्रिक नीतिका बारेमा ४५ मिनेट कुराकानी गरे गभर्नरले, ‘बजेटलाई सहयोग गर्छौं’

बिजमाण्डू
२०७९ जेठ २५ गते ११:३४ | Jun 8, 2022

काठमाडौं। आगामी मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार बिहान मन्त्रालय पुगेर परामर्श गरेका छन्।

Tata
GBIME
Nepal Life

निलम्बन र पुनर्बहाली प्रकरणपछि राष्ट्र बैंकको एजेण्डा बोकेर उनी पहिलो पटक अधिकारी अर्थमन्त्री शर्मालाई भेट्न पुगेका हुन्। यसअघि पनि मन्त्री-गभर्नर एउटै मञ्चमा भेटघाट भए पनि ती औपचारिक कार्यक्रमका सिलसिलामा थियो।

अर्थमन्त्री शर्माले आगामी वर्षको बजेट ल्याएपछि गभर्नर अधिकारी पनि आगामी वर्षको मौद्रिक नीतिको तयारीमा छन्। अर्थमन्त्रीले ८ प्रतिशतको आर्थिक वृद्धि र  ७ प्रतिशतभित्र मूल्यवृद्धि राख्ने बजेटमार्फत घोषणा गरेका छन्।

उच्च आयातले बाह्य क्षेत्र भ्वाङ परिरहेका बेला सरकारले उच्च आर्थिक वृद्धि लक्ष्य राखेको छ। बजेटको लक्ष्यहरुलाई भेट्टाउने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्।

असार अन्तिमसम्म मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक छ। राष्ट्र बैंकले सरोकारवालासँग रायसुझाव पनि माग्न थालिसकेको छ। त्यसै सन्दर्भमा गभर्नर अधिकारी अर्थमन्त्री भेट्न पुगेका हुन्।

गभर्नर आफ्नो सानो टिम लिएर गएका थिए भने अर्थमन्त्रीसँग सचिव, सहसचिवहरुको समूह थियो। करिब ४५ मिनेट मन्त्रालयमा बिताएका गभर्नरले अर्थमन्त्रालय मौद्रिक नीतिबाट के चाहन्छ भनेर सोधेको स्रोतले दाबी गर्‍यो।

गभर्नर अधिकारीले आगामी बजेटका लक्ष्यहरुलाई सघाउ पुग्ने गरी मौद्रिक नीति तर्जुमा गर्ने बताएका थिए। उनले आफ्ना केही योजनाहरु पनि बताएका थिए। 

अर्थमन्त्री शर्माले 'राम्रोसँग अध्ययन गरेर मौद्रिक नीति ल्याउन' भनेको स्रोतको भनाइ छ। गभर्नरले बजेटलाई सहयोग  पुग्ने गरी मौद्रिक नीति ल्याउने र राष्ट्र बैंकले आफ्नो दायित्व पुरा गर्ने बताएका थिए।

अर्थमन्त्री शर्माको पहलमा सरकारले गत चैतमा गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएको थियो। छानबिन समिति गठन लगत्तै उनी निलम्बनमा परेका थिए। सर्वोच्च अदालतले गभर्नरलाई पुनर्स्थापित गरिदिएपछि मन्त्रीसँग पहिलो पटक बुधबार औपचारिक छलफल भएको हो। 

यसअघि बजेटपछिको पत्रकार सम्मेलन लगायतमा भेटघाट भए पनि औपचारिक रूपमा कुराकानी भएको प्रकाशमा भएको थिएन।