
काठमाडौं। चौतर्फी आलोचना भएपछि जसरी पनि बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको यातायात व्यवस्था विभाग आफ्नो निर्णयबाट ब्याक भएको छ।
मंगलबार सूचना जारी गर्दै विभागले इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियामा केही परिमार्जन गरेको छ।
तत्कालका लागि गत मंसिर एक गतेदेखि दर्ता भएका नयाँ सवारी साधनहरुले असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। त्यसैगरी गत फागुन १ गतेपछि पुराना सवारी किनबेच भएका वा नामसारी गरेकाहरुले पनि असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने सूचनामा उल्लेख छ।
सरकारले साउन १ गतेबाट त्यस्ता सवारीसाधनहरुले इम्बोस्ड नम्बर जडान गरेको वा नगरेको ट्राफिक प्रहरीले अनुगमन गर्नेछ।
नवीकरण गर्नेको हकमा भने अब यातायात कार्यलयहरुले योजनाबद्ध रुपमा लट अनुसार इम्बोस्ड नम्बर प्लेट जडान कार्य अघि बढाउने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। यसका लागि प्रदेश सरकारले आ-आफ्नो योजना बनाएर काम गर्न बताइएको छ।
सडकदेखि सदनसम्म विभागको सूचनालाई लिएर विरोध भएपछि विभागका महानिर्देशक घिमिरे सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल भेट्न पुगेका थिए।
सचिवसँगको छलफल पछि विभागले मंगलबार केही परिमार्जनसहितको पाँच पाने सूचना जारी गरेको छ।
विभागले यसअघि निकालेको सूचनामा बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनहरुले साउन १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख गरेको थियो। नभए कारवाही गर्ने चेतावनी विभागले दिएपछि चौतर्फी आलोचना भएको थियो।
विभागले समयमै उचित सूचना सेवाग्राहीहरुलाई दिन नसकेको प्रति क्षमायाचना गरेको छ।