चार वर्षअघि ‘ले हिमालय’ भएको तिब्बती शैलीको होटल ‘ग्यान्जुङ’, पुरानो नाममा फर्काउने तयारी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ जेठ २१ गते १०:१६ | Jun 4, 2022
चार वर्षअघि ‘ले हिमालय’ भएको तिब्बती शैलीको होटल ‘ग्यान्जुङ’, पुरानो नाममा फर्काउने तयारी



काठमाडौं। लैनचौरबाट लाजिम्पाटतर्फ करिब एक हजार मिटर अगाडि बढ्दा सडक छेउमै एउटा बस स्टप। यो रुट हुँदै महाराजगञ्ज गुड्ने अधिकांश गाडी र यात्रु ओर्लिने ठाउँको नाम हो ग्यान्जुङ। र, यो नाम त्यही ठाउँमा भएको होटलको हो।

Tata
GBIME
Nepal Life

तर, अहिले होटलले चोकलाई आफ्नो नाम दिएर आफ्नो चाहिँ फेरेको छ- ले हिमालय। २२ वर्षको इतिहास बोकेको यो होटल तिब्बती आवरणमा छ। यो क्षेत्रमा तिब्बती शैलीका होटल अहिले थपिएका छन्। तर यो पुरानो होटल सेवाको गुणस्तर बढाउँदै नयाँ स्वरुपमा आफ्नो उपस्थितिलाई बलियो पारिरहेको छ।

दुई दशकअघि चीनबाट नेपाल घुम्न आउने पर्यटकका लागि यो शैलीको होटल कमै थिए। कमी पुरा गरेको थियो ग्यान्जुङले।  

स्थापनाकालदेखि यो होटलको स्वामित्व दुईपटक परिवर्तन भइसकेको छ। चार वर्षअघि व्यवसायी भीमबहादुर रोकामगरले स्वामित्व लिएसँगै यो होटल 'ले हिमालय'को नाममा सञ्चालनमा छ। सेवा भने तिब्बतकै कुनै होटलमा लिए जस्तै अनुभव गराउने पाराको छ। 

चिनियाँ भाषामा ग्यान्जुङको अर्थ हिमालको श्रेणीको नाम हो। 'ले हिमालय'  अर्थात 'द हिमालय' को नाम राखिए पनि छिट्टै यो होटलको नाम पुनः ग्यान्जुङ नै राख्ने तयारी रहेको उनले बताए। बीचमा चिनियाँ व्यवस्थापन आएसँगै खस्किएको व्यवसायलाई आफूले स्वामित्व ग्रहण गरेसँगै पाहुना सेवा केन्द्रित हुँदै आएको सञ्चालक मगर बताउँछन्।   

'मैले यो होटल लिएको पहिलो दिनदेखि नै राम्रो म्यानेजमेन्ट हेर्ने टिमलाई जिम्मेवारी दिएको थिएँ। नेपाली हस्पिटालिटी क्षेत्रमै राम्रो म्यानेजमेन्ट गर्दै आएका एक जनालाई जिम्मेवारी दिएँ,' उनले भने, 'पाँचतारे होटलमा लामो समयदेखि काम गर्दै आएका जनशक्तिकै कारण हाम्रो सेवा सुविधा थप आकर्षक हुन पुगेको हो। यो नै हाम्रो प्लस पोइन्ट हो। यो होटललाई स्टार लेवलमा भन्दा पनि जुनसुकै देशका टुरिस्टले हामीकहाँ आउँदा घरमै बसेको अनुभव गरोस् भन्ने उद्देश्य राखेका छौं।'  

होटल लिएको एक वर्ष नबित्दै सुरु भएको कोभिड महामारी सुरु भयो। आफूलाई यो क्षेत्रमा आउनका लागि सुरुवात जटिल भए पनि पछि आएर अवस्था सामान्य बनेको उनी बताउँछन्। महामारीको त्यो विकराल अवस्थामा पनि आफूलाई होटल कसरी चलाउने भन्ने कुरा सिक्ने मौका पाएको उनी बताउँछन्। 

'होटल २० वर्ष पुरानो भए पनि हामीले समयअनुसार हरेक सेवासुविधा गुणस्तरीय दिएका छौं। हाम्रो होटल चारैतिरबाट पायक पर्ने ठाउँमा छ। एयरपोर्टबाट २० मिनेटको दुरीमा छ, दरबारमार्ग, ठमेल, स्वयम्भूनाथ लगायत नजिक छ,' उनले भने।     

चार रोपनी क्षेत्रफलमा रहेको होटलको संरचना सात तल्लाको छ। होटलमा २५ वटा चारपाङ्ग्रे गाडी अट्ने क्षमताको पार्किङ स्पेस छ। ६० वटा कोठा क्षमताको होटलमा १ सय ५० जना क्षमताको कन्फ्रेन्स हल, मिटिङ  हल, ओपन टेरियस लगायतको सुविधा छ। होटलमा एउटा अपार्टमेन्ट, एउटा सुइट छ भने बाँकी रुम एक्जिक्युटीभ सुइट र डिलक्स छ। होटल तीनतारे स्तरको भए पनि हाम्रो सेवा पाँचतारे स्तरको छ।

'कोठाको हिसाबले हामी चारतारे स्तरका छौं। हरेक सेवा पाँचतारे स्तरमा दिँदै आएका छौँ। भविष्यमा हामी स्विमीङ पुल र फिटनेस सेन्टरको सेवा विस्तार योजनामा छौँ,' उनले सुनाए, 'कोभिडले व्यापार चौपट पारेको थियो, बल्ल उठ्ने तरखर छ। पर्यटन क्षेत्र थप चलायमान भएसँगै समय अनुसारको सेवा विस्तार गर्दै लानेछौ।'  

२० वर्षदेखि प्रयोग भएका अधिकांश सामाग्रीहरु परिवर्तनसँगै रुमहरुको आंशिक रेनोभेसन गरिसकिएको उनले जानकारी दिए। वरपर पाँचतारे होटल हुनु थप फाइदाजनक रहँदै आएको उनी बताउँछन्। वरपर पाँचतारे होटल धेरै भएका कारण व्यवसाय थप फस्टाउने उनले जानकारी दिए। 

'यहाँ आउने पाहुना यहाँ सेवा लिए बापतको शुल्क तिर्दा आत्मसन्तुष्टि जनाएका छन्। आफूले गरेको खर्चमा अहिलेसम्म आउने कुनै पनि पाहुनाले अप्ठ्यारो, महँगो महसुस गर्नुभएको छैन,' उनले भने, 'कोभिड संक्रमण घटेसँगै विदेशी पर्यटकसँगै गैरआवासीय नेपाली, व्यवसायी लगायतको चहलपहल छ। विदेशी मात्र नभइ हामी आन्तरिक पर्यटकलाई पनि सेवा दिँदा रमाउँछौं।'  

रियल स्टेट, भिल्ला ७२ रेष्टुरेन्ट लगायत विभिन्न क्षेत्रमा एकल लगानी गरेका रोकामगरको यो होटलमा  पनि एकल लगानी छ। 'आफू सक्ने हउन्जेल आफ्नै तरिकाले काम गर्दै जाने मेरो उद्देश्य हो। डाउन टु अर्थ भएर काम गर्दै गएपछि विभिन्न क्षेत्रमा सफलता त अवश्य नै छ। यसैमा विश्वास गर्छु। यो क्षेत्रमा नयाँ नयाँ छु। होटल र हस्पिटालिटी क्षेत्र भनेको मेरो पहिलैदेखिको सपना हो। सिक्दै छु र बुझ्दै पनि छु,' उनले भने।

दक्ष मल्टि-टास्क स्टाफको प्रयोग

होटलले आफ्नो सेवा संचालन चुस्त बनाउनका लागि मल्टि टास्क कर्मचारीलाई रोजगारमा जोड दिँदै आएको होटलकी अपरेशन मेनेजर सृष्टि जोशीले बताइन्। 'अहिले जति पनि स्टाफ हुनुहुन्छ उहाँहरु यहीँ दशकदेखि काम गर्दै आउनुभएको छ र कतिपय कर्मचारीहरु बीएचएम गरेर आउनुभएको छ। उहाँहरुलाई सेवा के हो भन्ने थाहा छ नि। त्यसैकारण हामीले सेवालक्षित सँगै गुणस्तरमा जोड दिँदै आएका छौँ,' उनले भनिन्, 'बीएचम गरेर आउनुभएका स्टाफहरुलाई हाउस किपिङ, एफ एण्ड बी सर्भिस लगायत सबैको ज्ञान हुन्छ।'       

होटलले विभिन्न मुलुकबाट आउने पाहुनालाई मध्यनजर गर्दै फ्युजन खानाका लागि कन्टिनेन्टल मेनु राख्दै आएको छ। उनका अनुसार यतिखेर होटलको अकुपेन्सी ७० प्रतिशतभन्दा माथि छ। होटलमा करिब ३५ जना कर्मचारी कार्यरत छन्। उनका अनुसार यतिखेर होटलमा ६० प्रतिशत भारतीय र बाँकी ४० प्रतिशत पश्चिमा मुलुकका पर्यटक छन्।

सन् २००२ मा ग्याङजुङ होटलको नाममा स्थापना भएको हो। पछि सन् २००९ मा संचालक परिवर्तन भए। त्यतिखेर नोर्बु कच्यौडा नेपालीले खरिद गरेका थिए। क्यानडा बस्ने प्रबन्ध मिलेपछि उनले बीचमा यो होटल चिनियाँ नागरिकलाई चलाउन दिएका थिए। चिनियाँले लिजमा लिएर यो होटल चलाउन नसकेपछि केही समय व्यवसाय ठप्प जस्तै थियो। 

आफूले चलाउन समय दिन नसकेपछि कच्यौडाले साथी भीम रोकामगरलाई केही समयका लागि यो ‍होटल सञ्चालनको जिम्मा दिएका थिए। रोकाले सन् २०१८ मा एक वर्ष भाडामै लिएर चलाए भने दोस्रो वर्ष आधा स्वामित्व लिएर। हालै उनले यो होटलको पूर्ण स्वामित्व आफूले लिएका छन्।