लगानीकर्ता बढेसँगै सेयर बजारमा कर्पोरेट फ्लेवर, कसैका ५ तले भवन कोही पब्लिकमा जाँदै

अन्जना सुवेदी/बिजमाण्डू
२०७९ जेठ ५ गते १५:४१ | May 19, 2022

काठमाडौं। नेपालको सेयर बजार ३३ खर्ब रुपैयाँमाथि आइपुग्दा सेयर ब्रोकर अफिसहरु समेत कर्पोरेट हुन थालेका  छन्। दशक अघिसम्म पनि साँघुरा कोठाहरुबाट काम गर्ने ब्रोकर अफिसहरु हाल आफ्नै अग्ला भवनबाट कारोबार  गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

तीन-चारजना मिलेर चलाउने गरिएका साना अफिसहरुमा अहिले ४०-५० जनाको टिमले काम गरिरहेको देखिन्छ भने  ब्रोकर कम्पनीहरुले धमाधम नयाँ शाखा समेत खोलिरहेका छन् ।

कर्पोरेट ढाँचामा गएका यस्ता  ब्रोकर अफिसहरु अब  ‘दलाल’ का रुपमा नभई लाखौं लगानीकर्ताका अर्बौं पुँजी संरक्षण र बिस्तार गर्ने ‘ब्यवस्थापक’ का रुपमा कार्यरत छन्।   

लगानीकर्ताहरुको तीब्र प्रवेश मात्र नभई सेयर ब्रोकरहरु समेत बजारमा सकारात्मक रुपमा हावी हुँदै जाँदा नेपाली सेयर बजारमा ब्रोकरहरुको कर्पोरेट कल्चर स्थापित भएको हो।

एकातिर लगानीकर्ताहरुमा प्रविधि सँगसँगै सेयरबजार सम्बन्धी शिक्षाको पहुँच बढ्नु र ब्रोकर कम्पनीहरुको मुहार फेरिनुले नेपाली सेयर बजारले पनि आफूलाई अपग्रेड गर्दै लगेको छ। ब्रोकर कार्यालयहरुमा देखिएको परिवर्तन यसैको प्रभाव हो।

मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीका धितोपत्र दलाल परमेश्वर मल्लले वि.स.२०५० सालमा ब्रोकर लाइसेन्स लिए। उनले त्यो समय लाइसेन्स लिएपनि औपचारिक रुपमा कारोबार भने बिसं २०५४ सालमा मल्ल स्टक दर्ता गरेर सुरु गरे।

डिल्लीबजारमा रहेको आफ्नै घरको एउटा साँघुरो कोठाबाट सुरु भएको हो उनको स्टक ब्रोकरको यात्रा यतिबेला आफ्नै पाँचतले भवनसम्म आइपुगेको छ। सुरुवाती दिनमा तीनजना मिलेर हाँकेको कम्पनीमा यतिबेला २२ जना कर्मचारी छन्।

मल्लका अनुसार सुरुवाती समयमा धेरै मानिसलाई सेयर बजार भन्ने नै थाहा थिएन। प्रविधिको पहुँच कम भएका कारण धेरै काम भौतिक उपस्थितीमा र कागजी हुने गर्थ्यो। त्यसैले सीमित कारोबार र सीमित लगानीकर्ता थिए।

“त्यतिखेर मार्केटमा नै ५, १० लाखको कारोबार हुन्थ्यो, हामी त एक लाखको कारोबार हुँदा नै ताली बजाउँथ्यौ।” मल्ल पुराना दिन सम्झन्छन्।

हाल सेयर बजारमा इन्भेष्टरभन्दा ट्रेडर हावी भएकाले बजार बढेको समयमा मात्र धेरै कारोबार हुने उनको अनुभव छ । “ट्रेडरहरु मार्केट नबढी सेयर बजारमा आउँदै आउँदैनन् ।” निकै पटक बुललाई नजिकबाट नियालेका मल्ल भन्छन् “इन्भेष्टरहरु चाँही आइरहन्छन् ।”

सुरुवाती समयमा बजार बुल हुँदा पनि बढीमा २५ लाख सम्मको कारोबार हुने गरेकोमा हाल उनले २३ करोड भन्दा धेरैको कारोबार गर्दै आएको बताउँछन्। बजार घटेको बेला पनि दैनिक दुई तीन करोडको कारोबार हुने गरेको उनले सुनाए।

लामो समय बजारमा ब्रोकर कार्यालय संचालन गरेर बसेका मल्लको अनुभवमा सेयर बजारमा कारोबार गर्दा प्रशस्तै धैर्यता चाहिन्छ ।

मल्लको कम्पनीले हाल नेपाल धितोपत्र बोर्डबाट दुई ठाउँमा शाखा कार्यालय खोल्ने अनुमति समेत पाइसकेको छ।

पाँच तले भवनको तीन तलामा ब्रोकर अफिस संचालन गरिरहेका मल्ल पाँच वर्ष अघि मात्र नयाँ भवनमा सरेका हुन्। त्यसअघि उनले डिल्लीबजारस्थित एक फ्ल्याटमा अफिस चलाउँथे। सुरुवातमा त उनले  साँघुरो एउटै कोठामा मात्र कारोबार सुरु गरेका थिए । एउटा कोठाबाट दुईवटामा पुग्न पनि उनीलाई चार वर्ष लागेको थियो। सेयर बजार बढेसँगै मल्लको कार्यालयको संरचना पनि पूरै बदलिएको छ।

सेयर ब्रोकर भरत रानाभाटले संचालन गरिरहेको  कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्यूरेटिजले हाल एकैदिन १ अर्बभन्दा बढीको कारोबार समेत गरेको छ। २०६८ सालमा ५ जना कर्मचारी राखेर सुरु गरिएको हो यो कम्पनीले पहिलो कारोबार जम्मा ९५ हजार रुपैयाँको गरेको थियो।

विस्तारै बजारमा लगानीकर्ता बढ्दै गए । बजार बढ्दै जाँदा उनको कारोबार रकम मात्र होइन, कार्यालय फैलियो, शाखाहरु खुल्दै गए अनि कर्मचारीहरु पनि थपिन थाले।

अहिले उनको अफिस दुई तलामा फैलिएको छ भने पोखरामा करिब ६ वर्षदेखि शाखा कार्यालय संचालन गरिरहेका छन् ।

कुनै समय एक लाखको कारोबार हुँदा मन बुझाउने रानाभाट हाल बजार बढेको समयमा एकैदिन एक अर्बभन्दा बढीको कारोबार गर्दै आएका छन् भने बजार घटिरहेको समयमा ५ देखि ७ करोडको कारोबार गर्छन्। काठमाडौं र पोखरामा गरी उनको कम्पनीमा ३० भन्दा बढी कर्मचारी छन्।

भर्चुअल खरिद बिक्री गर्न मिल्ने भएपछि खरिद बिक्रीका लागि लगानीकर्ता ब्रोकर अफिस धाउने चलन भने घट्दै गएको छ।

“पहिला फिजिकल डकुमेन्टेसन बढी हुन्थ्यो पेपरको काम बढी गर्नुपर्थ्यो। अहिले चाँही प्रविधिले त्यो सबै रिप्लेस गरिदियो।  सिस्टमले काम गरिरहेको छ ।” रानाभाटले भने । उनका अनुसार अनलाइनबाट आइपीओ भर्ने सिस्टम आइसकेपछि बजारमा लगानीकर्ता बढेका हुन् ।

अनन्तराज पौडेल र दिनेश शर्माले हाँकेको ब्रोकर कम्पनी हो अनलाइन सेक्युरिटिज। पौडेल अनलाइन सेक्युरिटिजमा २०७० सालदेखि आवद्ध भएका हुन् । त्यसअघि उनले बिसं २०५७ सालदेखि ब्रोकर नम्बर ६ मा काम गरेका थिए। सेयर बजारमा लामो अनुभव बोकर आफ्नै कार्यालय खोलेका हुन् पौडेलले।

उनी यस संस्थामा आउँदा जम्मा ७ जना कर्मचारी थिए भने एउटा फ्ल्याटमा कार्यालय एडजस्ट गरेर संचालन गरिएको थियो। तर हाल अनलाइन सेक्युरिटिजका धरान, नुवाकोट, बर्दिबास र उर्लाबारीमा गरी चारवटा शाखा संचालनमा छन्। केन्द्रीय कार्यालयमा ४० जना र अन्य सबैमा गरी ५० जना कर्मचारी कार्यरत छन्।

सुरुवाती दिनमा केही लाखको मात्र कारोबार गरेको अनलाइन सेक्यूरेटिजले हाल दैनिक १५ देखि २० करोड रुपैयाँ बराबरको कारोबार गर्दै आइरहेको छ । केही समय अघि बजार बुल हुँदा दैनिक २ अर्ब बढीको समेत कारोबार गरेको पौडलले जानकारी दिए।

पौडेलका अनुसार हाल कम्पनीको पूँजी २५ करोडभन्दा बढी रहेको छ । यस ब्रोकर कम्पनीमा १ लाख २० हजार भन्दा धेरै लगानीकर्ता रहेका छन् । यसमध्ये अनलाइन कारोबार गर्ने लगानीकर्तामात्र ९० हजारको हाराहारीमा छन् ।

कम्पनीको योजनाबारे उनी भन्छन्- ‘कारोबार बढ्दै गएपछि लगानीकर्तालाई सेवा दिन कार्यालय कर्पोरेट भयो । बिस्तार हुँदै गयो। अब त हामी बोर्डबाट अनुमति लिएर छिट्टै पब्लिकमा लैजाने तयारी गर्दैछौं। स्वीकृति पाइयो भने बुकबिल्डङबाट आइपीओ निष्कासन गर्ने समेत योजना छ।’

ब्रोकर अफिसहरुले आफूलाई कर्पोरेट शैलीमा ढाल्दै गर्दा पौडेलले सुनाएका यी योजना एउटा कम्पनी मात्र नभई समग्र सेयर बजार अपग्रेड हुँदै गएको सन्देश पनि हो।  पछिल्लो समयमा ब्रोकर अफिसको बिस्तार र बजारमा लगानीकर्ताको तीब्र र निरन्तर प्रवेशले नेपाली सेयर बजारको प्रणालीलाई अझ बढी उत्साहित बनाउने देखिन्छ।